तपाईँ सुन्दै हुनुहुन्छः

बाल गीत प्रतियोगिता : गम्भीर समुद्र सेतु माविका अनमोल सेवा प्रथम

पूर्णचन्द्र घिमिरे,

काठमाडौँ । ५९ औँ बाल दिवसका अवसरमा रेडियो नेपाल र नेपाल बाल सङ्गठनले संयुक्त रुपमा आयोजना गरेको बाल गीत प्रतियोगितामा ललितपुरको गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयका अनमोल सेवा प्रथम हुनुभएको छ । 

यस्तै प्रतियोगितामा सुनसरीको हिमालय इङ्लिस स्कुलका राजेश परियारले द्वितीय र काठमाडौँको द राइजिङ स्टार बोडिङ स्कुलका यरिना, आरोहना, सायना तथा काब्या बोहोराको समूहलाई तृतीय स्थान हासिल भयो ।

प्रतियोगितामा काठमाडौँकै ल्याब्रोरेटरी स्कुल र टाइमलाइन स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन् । 

बालमन्दिर परिसर नक्साल काठमाडौँमा आज आयोजित प्रतियोगितामा उत्कृष्ट सङ्गीततर्फ लक्ष्मण चौँलागाई, तथा उत्कृष्ट रचनातर्फ सुरेन्द्र मुखिया छनौट हुनुभयो । 

भदौ २६ गतेको छनौट चरणबाट आवेदन दिएका ४२ समूह मध्येबाट छनौट भएका विभिन्न विद्यालयका २० समूहले प्रतियोगितामा भाग लिएका थिए । 

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले गीत सङ्गीतको माध्यम सिकाइका लागि उत्कृष्ट रहेको बताउनुभयो । 

उहाँले गीत सङ्गीतलाई अहिलेको शिक्षा प्रणालीसँग जोडेर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा रेडियो नेपालको कायकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले आफ्नो स्थापना कालदेखि आजसम्म बालबालिकालाई उच्च प्राथमिकतामा राखेर कार्यक्रमको निर्माण तथा प्रसारण गर्दै आएको बताउनुभयो । 

नेपाल बाल सङ्गठनका केन्द्रीय अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बालबालिकाको सचेतना वृद्धि र जागरणका लागि यस्ता बाल गीत प्रतियोगिता उपयोगी हुने बताउनुभयो । 

ललितकला प्रज्ञा प्रतिष्ठाका कुलपति नारदमुनि हार्तमछालीले बालबालिकाको क्षेत्रमा लगानी बढाउन सके भविष्यमा देशलाई आवश्यक पर्ने राम्रो जनशक्ति उत्पादन हुनसक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button