सिटीइभिटी र चिकित्सा शिक्षा आयोगबीच विवाद संसदीय समितिमा

काठमाडौँ । चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभिटीबीच देखिएको कार्यक्षेत्रबारेको विवाद संसदीय समितिमा आइपुगेको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीले चिकित्सा शिक्षा ऐन जारी भएपछि सिटीइभिटीलगायतका संस्थाहरूले आयोग अन्तर्गत रहेर काम गर्नुपर्ने प्रावधान रहेको बताउनुभयो ।
बैठकमा सिटीइभिटिइका उपाध्यक्ष खगेन्द्र अधिकारीले चिकित्सा शिक्षा ऐनसम्बन्धी आ–आफ्नै बुझाइ रहेकाले दुई संस्थाबीच विवाद उत्पन्न भएको बताउनुभयो ।

बैठकमा सांसदहरुले राज्यका दुई निकायबीच विवाद देखिनु राम्रो नभएकाले तत्काल समाधान खोज्न सरकारसँग माग गर्नुभयो ।
समितिका सभापति भानुभक्त जोशीले चिकित्सा शिक्षा आयोग र सिटीभिइटीबीच चुलिएको विवादको समाधान खोज्न भोली बस्ने बैठकमा छलफल हुने बताउनुभयो ।
समितिको भोलीको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई पनि आमन्त्रण गरिने सभापति जोशीले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्