तपाईँ सुन्दै हुनुहुन्छः

विषाक्त घाँस खाँदा एउटै किसानका सातवटा गाई मरे 

चितवन  । विषाक्त घाँस खाएका  कारण भरतपुरमा एउटै गोठका सात वटा गाई वस्तु मरेका छन् । भरतपुर–११, नयाँकिरण टोलस्थित शुभ नारायणी गाई फार्ममा रहेका माउ बच्चा गरी ११ वटा गाईमध्ये सात वटा गाई मरेका हुन् । फार्मका सञ्चालक शिव लामिछानेका अनुसार गत आइतबार दिउँसो १२ बजेतिर घाँस खुवाएर दिउँसो २ बजेतिर पानी खुवाउने बेलामा एक्कासी गाई बिरामी भएको थाहा भएको थियो  ।

त्यसपछि घरायसी उपचार गरे पनि ठिक नभएपछि भेटेरिनरी अस्पतालमा खबर गरिएको थियो  । प्राविधिक आएर स्वास्थ्य जाँच गर्दा पनि ठिक नभएको लामिछानेले बताउनुभयो  । यसअघि गोठमा कुनै पनि रोगको सङ्केत नभएको उहाँले बताउनु भयो । आइतबार साँझ पाँच वटा र सोमबार साँझ दुई वटा मरेका थिए  । ‘सधैँ जस्तै आइतबार दिउँसो १२ बजेतिर घाँस हालियो । त्यसपछि हामी खाना खाएर आराम गर्‍यौँ,’ उहाँले भन्नुभयो , ‘त्यसपछि दिउँसो २ बजेतिर पानी खुवाउन जाँदा त गाई बिरामी भएको थाहा पायौँ ।’

बिहानसम्म स्वस्थ गाई एक्कासी ¥याल काढ्ने, जिब्रो बाहिर निकाल्ने र पेट फुल्ने समस्या देखिएपछि एक्कासी ढल्न थालेको उहाँले बताउनु भयो । ‘दुईवटा ब्याउने बेला भएको माउ, तीन वटा दुहुनो र दुई वटा कोरली गाई मर्‍यो,’ उहाँले भन्नुभयो , अब त मेरो गोठ नै रित्तियो ।’ 

गोठमा रहेको अर्को कोरली गाई पनि बिरामी मङ्गलवारदेखि परेको छ । ‘गाई पाल्न थालेको १६ वर्ष सम्म यस्तो समस्या खेप्नु नपरेको उहाँको भनाई थियो । उहाँका अनुसार ठूलो सानो गरी सातवटा गाई मर्दा करिब दश लाख रुपैयाँको हाराहारीमा क्षति भएको छ ।

तीनवटा गाईबाट दैनिक करिब ५० लिटर दूध सङ्कलन हुँदै आएको थियो । अहिले गोठमा रहेका दुईवटा लैनु बाच्छा र बाच्छीलाई भएको एउटा माउको दूध खुवाएर बचाइरहेको उहाँले बताउनु भयो  ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि विषाक्त घाँसकै कारण गाई मरेको बताएको छ । ‘घाँस नै विषाक्त परेको जस्तो देखिन्छ,’ विज्ञ केन्द्रका प्रमुख सुशील केसीले भन्नुभयो , ‘त्यसबाहेक  अन्य कुनै समस्या देखिएको छैन ।’ पोष्टमार्टम गरेर हेर्दा पनि अन्य समस्या केही नदेखिएको उहाँले बताउनु भयो  । घाँस नै विषाक्त भएपछि घाँस खाएका गाई मरेको र नखाएका जति बाँचेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button