प्रतापपुर गाउँपालिकाले सिसिक्यामेराबाट मातहतका कार्यालयको नियमन
नवलपरासी।पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिकाले प्रविधिको प्रयोग गर्दै सिसिक्यामेराबाट गाउँपालिका मातहत कार्यालहरुको नियमन गर्न थालेको छ।
गाउँपालिकामा प्रविधिको प्रयोगले सेवा प्रवाहको नियमनमा सहज भएको छ । गाउँपालिकाले मूलतः सिसिक्यामेराको माध्यमबाट मातहतका कार्यालयको दैनिक कामकारबाहीको नियमन गर्दै आएको छ ।
सिसिक्यामेराको जडानबाट सेवा प्रवाहमा सहजता र सुधार ल्याउन मदत मिलेको र यसले कर्मचारीमा पनि कामप्रतिको जबाफदेहिता थप हुने गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।
“प्रत्येक दिन सबै ठाउँमा अनुगमनमा हिँड्न सम्भव पनि छैन,सबै कार्यालयमा सेवाग्राहीको अवस्था दैनिक रुपमा बुझ्न पनि सकिँदैन अब भने पालिकाबाटै यसको नियमन गर्दा समस्याको पहिचान र जबाफदेहितामा पनि सहज हुन्छ र सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त हुन्छ”अध्यक्ष यादवले भन्नू भयो ।
गाउँपालिकाले पालिका भित्र रहेका सबै वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, गाउँपालिकाका सबै शाखा र पालिका भित्रका मुख्य बजार तथा चोकहरूमा सिसिक्यामेरा जडान गरेको छ । गाउँपालिकाका नौ ओटा वडा कार्यालय, नौ ओटा स्वास्थ्य संस्था र २३ ओटा विद्यालयको कार्यालय शाखामा सिसिक्यामेरा जडान गरी गाउँपालिकाबाटै नियमन गर्ने गरिएको छ ।
बजार चोक बाहेक बाँकी पालिका मातहतका कार्यालयको क्यामेरा मार्फत गरिने निगरानीले धेरै समस्या तत्कालै समाधान गर्न सहयोग पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनुभयो । केही महिना अगाडी मात्रै वडा नम्बर ८ मा पानीको विषयमा विवाद हुँदा वडा कार्यालयमा तोडफोड र तालाबन्दी हुने अवस्था थियो, तर तत्कालै गाउँपालिकाबाट सो स्थानमा भिड देखेपछि प्रहरीलाई खबर गरी स्थिति नियन्त्रणमा लिन सफल भयौँ प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भन्नुभयो । ‘यो त एउटा उदाहरण हो, यस्ता धेरै काम दैनिक सम्बन्धित स्थलमा पुगेर मात्रै सम्भव हुने निगरानी क्यामेराको माध्यमबाट पालिकाको कार्यकक्षबाटै सम्भव भएको छ, उहाँले भन्नुभयो ।’
स्वास्थ्य संस्थामा चेकजाँच कक्ष बाहेक बाहिरी तथा फार्मेसिमा क्यामेरा जडान गरी सेवाग्राहीको चाप, स्वास्थ्यकर्मीको उपस्थितिको निगरानी गर्ने गरिएको छ । भिडभाड बढेमा गाउँपालिकाबाटै निगरानी गरेर के समस्या हो समाधान गर्ने गरिएको छ । जसबाट सेवा प्रवाहमा पनि सुधार भएको छ भने कर्मचारीमा काम प्रतिको जिम्मेवारी पन पनि बढ्नेसिसि प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउनुभयो । गाउँपालिकाले क्यामेराको नियमित निगरानी गरी आवश्यक रिपोर्ट पेश गर्ने तथा समस्या समाधानका लागी जानकारी गराउन एक जना फोकल पर्सन कर्मचारी नै नियुक्त गर्ने तयारी गरेको छ ।
झन्डै १५ लाखको लागतमा जडान गरिएका सिसि क्यामेरा मध्ये गोपिगंज बजार क्षेत्रको सेमरी ईलाका प्रहरी चौकी मार्फत निगरानी हुँदै आएको छ भने सुर्यपुरा, बेलाटारी गण्डक नहर क्षेत्र तथा अन्य मुख्य चोकको क्यामेरा मार्फत ईलाका प्रहरी कार्यालय बेलाटारीले निगरानी गर्दे आएको छ । यसबाट चोरी, तस्करी नियन्त्रणमा सहयोग पुगेको छ भने प्रहरीलाई अनुसन्धानमा पनि धेरै सहयोगी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउनुभयो ।
सबै ठाउँमा ई–हाजिरीको व्यवस्था गरिएको छ भने ल्यान्डलाईन फोनमा ईन्टरकमको व्यवस्था गरी अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाटै तत्कालै टेलिफोन सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । यसैगरी टोलफ्रि नम्बरको पनि व्यवस्था छ । गाउँपालिकामा पालिकावासीले कुनै पनि कुरा राख्न टोलफ्रि नम्बरमा निःशुल्क फोन गर्न सक्छन् । टोलफ्रि नम्बरमा बढी बालबालिका र महिला सँग सम्बन्धित समस्या आउने गरेको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्