तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज उपमहानगरलाई डुबानबाट जोगाउन नाला सफाइ

नेपालगञ्ज। नेपालगञ्जलाई डुबानबाट जोगाउन बर्षौंदेखि सफाइ नगरिएका नाला यस बर्ष सफा गरिएको छ । बर्खायाममा हुने डुबानबाट नेपालगञ्जलाई जोगाउन यहाँका मुख्य साना ठूला नाला सफा गरिएको हो । यसअघि सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नालीको सफाइ गर्ने गरिए पनि बर्षौंदेखि सबै नाला आमरुपमा सफा गरिएको थिएन ।

तीन चरणमा नाला सफाइ गरिएको हो । मुख्य नालाका अन्तिम विन्दु (आउटलेट) बाट सफाइ थालिएको थियो । “अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ जहाँ अवरोध छ, त्यसमा राम्रोसँग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरेका थियौँ,” नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर निवेशकुमार शर्माले भन्नुभयो, “बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालासहित अन्य नाला पनि सफाइ गरेका छौँ ।” जेसिबीले सफाइ गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाइ गरिएको शर्माले बताउनुभयो ।

नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य समस्याको रुपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नालाहरू सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि सफाइको काम सुरु गरिएको बताउनुभयो । “नालाको आधा भन्दा बढी भाग माटोले पुरिएको अवस्था थियो, कतिपय ठाउँमा जेसिवी प्रयोग गर्न सकिने अवस्था थिएन, त्यसैले मान्छे नै लगाएर सफाइ गरेका हौँ,” नगर प्रमुख विष्टले भन्नुभयो । विष्टले नेपालगञ्ज उपमहानगरपालिकाभित्र डे«नेजको पर्याप्त नेटवर्क भएपनि सहजरुपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको बताउनुभयो । “विगतमा बजारको वरिपरि मात्रै सफाइ गर्ने काम भयो, अब हामीले अन्तिम विन्दुबाट आमरुपमा सफाइ गरेका छौँ, तीन चरणमा काम गरेका छौँ, अब डुबानको समस्या  नहुने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो । 

नालाको ढक्कन खोल्न सकिनेलाई ढक्कन खोलेर र खोल्न नसकिने नालामा उपकरणको प्रयोग गरेर नाला सफा गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताउनुभयो । बर्षौंदेखि जाम भएका नाला सफाइ गरिएपछि यसपटक नेपालगञ्जमा डुबान नहुने विश्वास लिइएको छ । जथाभाबी फालिएका प्लाटिकजन्य बोटल र विभिन्न वस्तु, सिसाका बोटल, माटो लगायतका कारण नालामा पानीको निकास नहुँदा स्थानीयवासीले डुबानको सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button