तपाईँ सुन्दै हुनुहुन्छः

बिर्तामोड नगर अस्पताल स्तरोन्नति गर्न भवन निर्माण गरिँदै

बनियानी। झापाको बिर्तामोड नगरपालिकाको नगर अस्पताल भवन शिलान्यास गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईँले भवनको शिलान्यास गर्नुभयो । हाल सञ्चालनमा रहेको नगर अस्पताल परिसरमा सुविधासम्पन्न तीनतले नयाँ भवन बनाउन लागिएको हो ।

भवन समयमै निर्माण गरेर सरल, सहज र गुणस्तरीय सेवा प्रदान गरिने उहाँले बताउनुभयो । रु १५ करोड ३४ हजारको लागतमा बन्न लागेको सो भवन निर्माणको जिम्मा विभाष इन्टरनेशनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि काठमाडौँले लिएको छ । भवन २०८१ फागुनभित्र निर्माण गरिसक्नुपर्ने छ । भवन निर्माणपछि बिर्तामोड नगर अस्पताल १५ शय्याबाट २५ शय्यामा स्तरोन्नति हुनेछ ।

नगरपालिकाका इञ्जीनियर नरेन्द्र श्रेष्ठका अनुसार यहाँ यसअघि रु पाँच करोड ५० लाखको लागतमा १५ शय्याको भवन निर्माण गरिएको थियो । नगर अस्पतालमा हाल चार चिकित्सक कार्यरत छन् । यहाँबाट दैनिक दुई सयभन्दा बढी बिरामीले सेवा लिइरहेका छन् ।

कनकाईमा सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा प्रतिबन्ध

झापाको कनकाई नगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । यही जेठ १७ गते सम्पन्न २५औँ कार्यपालिकाको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले आगामी साउन १ गतेदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

नगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो ।

“गुट्खा, सुर्ती, पराग, चुरोटलगायतको खोल–ठुटा यत्रतत्र फालिँदा वातावरण प्रदूषणसँगै नगर नै कुरुप देखिन थालेको छ”, उहाँले भन्नुभयो । कनकाईका सबै राजनीतिक दलले समेत स्वास्थ्य र वातावरणमा प्रतिकूल असर गर्ने यस्ता वस्तुको बिक्री–वितरणमा निषेध लगाउन ऐक्यबद्धता जनाएका छन् । दलका प्रतिनिधिहरूले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्ने नगरको निर्णयमा सहमति जनाउँदै हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button