तपाईँ सुन्दै हुनुहुन्छः

आफू विरुद्ध पापी मनहरूको घेराबन्दी : मन्त्री किराती

खोटाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू विरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताउनुभएको छ ।

खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) उद्घाटन कार्यक्रममा उहाँले तीन वटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि पापी मन भएकाले घेराबन्दी गरिरहेको बताउनुभयो ।

“घाटामा गएको नेपाल वायुसेवा निगमलाई मैले मन्त्रालय सम्हालेको करिब तीन महिनामै रु चार अर्ब ऋण घटाएको छु । अहिले हामी तीन वटा जहाज किन्ने प्रक्रियामा छौँ । हवाईजहाज किन्न नदिन संसारभरका पापी मनहरूले घेराबन्दी गरिरहेका छन्”, मन्त्री किरातीले भन्नुभयो, “तपाईँहरूको साथ पाएँ भने प्रक्रिया र प्रणालीमा पारदर्शी तरिकाले पाँच पैसा घोटाला हुन नदिने गरी जहाज ल्याउँछौँ ।”

मन्त्रालयले खरिद गरेर ल्याइने दुई वटा जहाज पश्चिम नेपालमा र एउटा पूर्वी नेपालको विराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाइने मन्त्री किरातीले जानकारी दिनुभयो ।

उहाँले खोटाङको तीनवटै विमानस्थलमा नियमित उडान/अवतरण गर्ने गरी तयारी थालिएको जानकारी दिनुभयो । प्राधिकरणमा विमान नभएकै कारण उडान/अवतरण हुन नसकेको जानकारी दिनुहुँदै मन्त्री किरातीले अबको केही समयपछि नै खोटाङका तीनवटै विमानस्थलमा नियमित उडान/अवतरण हुने विश्वस्त पार्नुभयो ।

पर्यटकीयस्थलको अवलोकन भ्रमणमा निस्कनुभएका मन्त्री किराँतीले सबै नागरिक असल नियतका साथ अगाडि बढ्ने हो भने समृद्धि आफूहरूकै पालामा सम्भव रहेको पनि बताउनुभयो । फायर हाइड्रेन्ट गेट भल्भ उद्घाटनपछि जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सबैले अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टङ्क राईले पर्यटन विकासका नाममा पुराना संरचनालाई ध्वस्त पार्ने योजना नबनाउन मन्त्री किराँतीलाई सुझाव दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा संविधानसभा सदस्य दुर्गा जयन्ती राई, जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button