तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको नवौँ बैठकबाट प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख नन्दा गुरुङले मुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभामा नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव गर्न समय दिनुभएसँगै बहुमतले पारित भएको हो ।

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले यही जेठ २१ गते प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

आजको बैठकमा प्रतिपक्षी दल नेकपा (एमाले)बाट प्रदेशसभा सदस्य त्रय टेकराज पछाईँ, जीतबहादुर मल्ल र विनोदकुमार शाहले नीति तथा कार्यक्रममाथि प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । सदस्य पछाईँले जनयुद्ध शब्द, मल्लले कर्णालीको हवाई व्यवस्था र शाहले वित्तीय व्यवस्थाको पहुँचसँग सम्बन्धित विषयमा संशोधन प्रस्ताव राख्नुभएको थियो ।

नीति तथा कार्यक्रम पारित भएसँगै सभामुख गुरुङले प्रदेश सभाको अर्को बैठक असार १ गते दिउँसो १ः०० बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button