तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली संस्कृति संरक्षणका लागि विद्यार्थीलाई अनिवार्य नेपाली टोपी

मेरो टोपी कैलाशको शिरजस्तो, हिमाली भिरजस्तो
कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने

सङ्खुवासभा । गोपाल योञ्जनको यो गीतले भनेझै ढाका टोपी पहिरिएपछि गर्वको अनुभूति हुन्छ । टोपी सौन्दर्यको साधनमात्र होइन राष्ट्रको पहिचान पनि भएकाले गौरवको महसुस हुने गरेको छ । सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ मा रहेको हिमालय माध्यमिक विद्यालयमा नेपाली टोपी अनिवार्य गरेको छ ।

राष्ट्रियताप्रतिको सम्मान र नेपाली संस्कृति संरक्षणका लागि हिमालय माध्यमिक विद्यालयमा छात्रका लागि नेपाली टोपी अनिवार्य गरिएको हो । विद्यालयले नेपाली टोपी अनिवार्य गरेपछि हिमालय माविका छात्र शिरमा नेपाली ढाकाटोपी सजाएर आउन थालेका छन् ।

नयाँ शैक्षिक सत्रको सुरुबाटै छात्रलाई विद्यालय पोशाकमा नेपाली टोपी र छात्रालाई दुई चुल्ठी बाट्ने र कक्षागत रिबन लगाउन अनिवार्य गरेको हिमालय माविका सूचना अधिकारी भरत कुलुङले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर र नेपाली टोपी खरिद गर्न नसक्ने विद्यार्थीलाई लिखित निवेदनका आधारमा विद्यालयले खरिद गरेर उपलब्ध गराउने सूचना अधिकारी कुलुङले बताउनुभयो ।

नेपाली टोपी नलगाउने छात्र र दुई चुल्ठी कपाल नबाट्ने छात्राले अतिरिक्त क्रियाकलापमा भाग लिन पाउँदैनन् । त्यसैले विद्यालयका करिब एक हजार चार सय ५४ विद्यार्थी नेपाली टोपी र दुई चुल्ठी कपाल बाटेर विद्यालय प्रवेश गर्छन् ।

ढाकाटोपी नेपालीको पहिचान हो । एक दशकदेखि नेपालमा टोपी दिवस समेत मनाउन थालिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button