तपाईँ सुन्दै हुनुहुन्छः

बजेट माथिको छलफल जारी, अर्को बैठक भोलि ११ बजे बस्ने

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि आज पनि छलफल जारी रह्यो ।

बजेटमाथिको छलफलमा सांसदहरुले मिश्रित प्रतिक्रिया व्यक्त गर्नुभएको छ ।

सांसदहरुले बजेटले समाजवादको प्रारम्भिक मोडल प्रस्तुत गरेकाले कार्यान्वयनमा सरकारको विशेष ध्यान जानुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै बैठकमा सांसदहरुले बजेट प्रगतिशील नभएको, बजेटले निजी क्षेत्रलाई समेट्न नसकेको, शिक्षा स्वास्थ्य क्षेत्रलाई उचित सम्बोधन नगरेको र बजेटले एकात्मक राज्य प्रणालीको झल्को दिएको पनि बताउनुभयो ।

बैठकमा सांसदहरुले सरकारको नीति तथा कार्यक्रम र बजेटबिचमा तालमेल हुन नसकेको, करको वृद्धि दर र राजस्व वृद्धिदर एउटै भएको भन्दै प्रश्न उठाउनुभयो ।

सांसदहरुले सार्वजनिक वित्त प्रणालीलाई सुधार गर्ने कुरा बजेटमा समेटिनु भने सकारात्मक भएको धारणा राख्नुभयो ।

बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले संघीय निजामती ऐन चाँडो ल्याउनुपर्ने, विद्यार्थी भर्ना र शुल्क निर्धारणमा एकरूपता हुनुपर्ने, स्वास्थ्य संस्थामा औषधी र जनशक्ति अभाव साथै कुलुङ जातिलाई जनजातिमा सूचीकरण गर्नुपर्नेप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै सांसदहरुले कृषि अनुदान दुरुपयोग भएको, उपत्यकाभित्र किराँतीहरूको शव व्यवस्थापन गर्न २५ वर्षअघि भएको सहमति कार्यान्वयन गर्नुपर्ने, विद्युत् कटौती रोक्नुपर्ने लगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि जेठ २६ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button