तपाईँ सुन्दै हुनुहुन्छः

बौद्धिक अपाङ्गलाई उन्नत जातका बाख्रा वितरण 

चितवन । भरतपुर महानगरपालिकाले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका लागि उन्नत जातका बाख्रा वितरण गरेको छ । उनीहरूको  दैनिक जीवनयापनमा  सहज होस भन्ने हेतुले महानगरपालिकाले बाख्रा वितरण गरिएको हो । 

भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गताका अभिभावक संघ चितवनले अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनर्स्थापना सहयोग कार्यक्रम अन्तर्गत रहेर बाख्रा वितरण गरेको जानकारी दिएको छ  । 

भरतपुर महानगरपालिका वडा नम्बर १५ का आज पाँच घरलाई उन्नत जातका बाख्रा वितरण गरेको थियो ।

कार्यक्रममा बाख्रा वितरण गर्दै  उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका पूर्वाधार पछि सामाजिक कार्यमा अघि बढेको बताउनु भयो  । ‘सुरुवाती क्षणमा बाख्रा वितरण यो कार्यक्रम सानो भए पनि यो आर्थिक समृद्धिमा जाने सङ्केत हो, उप प्रमुख अधिकारीले भन्नुभयो, यो एउटा सानो बीउ पूंँजी हो ।’

भरतपुर महानगरपालिका घर आँगनको स्थानीय सरकार भएकोले सबैलाई अपनत्व हुने गरि सरकारको सेवा तल्लो तहका नागरिक सम्म पुर्‍याएको उहाँको भनाई थियो  । हाल महानगरपालिकाले आगामी दिनमा यो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइने उहाँले बताउनु भयो । यो कार्यक्रम एक घर एक रोजगारीको अवधारणामा रहेको समेत उहाँले जानकारी दिनुभयो  । 

भरतपुर महानगरपालिकाले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरूको लागि सहायता सामाग्री वितरण,ब्रेल अर्थात् सेतो छडी वितरण,शैक्षिक सामाग्री वितरण लगायतका अन्य धेरै कार्यक्रमहरू गर्दै आएको  छ ।  

कार्यक्रममा स्वास्थ्य तथा सामाजिक विकास महाशाखा निर्देशक शान्ता कुमारी पौडेल,अपाङ्गता समाज चितवनका अध्यक्ष होमनाथ अधिकारी लगायतले आफ्ना धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button