तपाईँ सुन्दै हुनुहुन्छः

कार्ययोजना तयार गरी खप्तडको थप विकास गरिने : प्रधानमन्त्री

बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय स्थलको थप विकासका लागि विस्तृत कार्ययोजना तयार गरिने बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले खप्तडमा आयोजना गरेको प्रथम खप्तड आध्यात्मिक सम्मेलन उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले खप्तड सुदूरपश्चिम प्रदेशको मात्र नभएर नेपालकै अलौकिक भूमि भएकाले यसको थप प्रवर्द्धन र अन्य व्यवस्थापनका लागि आफूले उच्च प्राथमिकता दिने बताउनुभयो । सम्मेलनले खप्तडको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र महत्त्व बढेको बताउँदै यसको समग्र विकासको लागि विज्ञहरुसँग राय, परामर्श गरी अन्तर्राष्ट्रिय आध्यात्मिक खप्तड धामका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, परराष्ट्र मन्त्री एनपी साउद, एमाले नेता भिम रावल र नेपाली काँग्रेसका नेता रमेश लेखक लगायतले खप्तडको धार्मिक तथा पर्यटकीय विकासबाट देशकै अर्थतन्त्रमा सुधार पुग्ने हुँदा यसलाई अन्तर्राष्ट्रिय आध्यात्मिक स्थलको रूपमा विकास गर्न सबै निकायले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।

समारोहमा योग गुरु रामदेवले खप्तडलाई धार्मिक स्थलका रूपमा थप अगाडि बढाउन आफ्नो पूर्ण साथ सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत अन्य मन्त्रीहरू, राजदूतहरू, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, योग साधकहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button