तपाईँ सुन्दै हुनुहुन्छः

भारत भ्रमण फलदायी र अन्य भ्रमण भन्दा फरक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको ४ दिने भ्रमण पुरा गरी आज स्वदेश फर्किनुभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा मित्रराष्ट्र भारतको चार दिने औपचारिक भ्रमण पुरा गरी प्रधानमन्त्री प्रचण्ड आज साँझ नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौँ फर्किनुभएको हो ।

भारतको भ्रमण पुरा गरी फर्किनुभएका प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती सहित मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा नेपाल सरकारका उच्च अधिकारीहरुले स्वागत गर्नुभयो ।

त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री प्रचण्डलाई सम्मान गारथ सलामी अर्पण गरेको थियो ।

स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण फलदायी र अन्य भ्रमण भन्दा फरक भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले दुई देश बीचको सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री स्वयम्ले चासो देखाउनु, ऊर्जा व्यापारको क्षेत्रमा भारतबाट १० वर्षमा १० हजार मेगावाटको प्रस्ताव आउनु लगायतका विषय परिणाममुखी रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालमा रासायनिक मलको आपूर्ति र नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि भारतीय पक्ष सकारात्मक हुनु भ्रमणको उपलब्धिका रुपमा रहेको उल्लेख गर्नुहुँदै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको शीघ्र कार्यान्वयनका लागि सहमति हुनु महत्वपूर्ण उपलब्धि भएको पनि बताउनुभयो ।

भैरहवा र नेपालगञ्जबाट नयाँ दिल्ली लगायतका भारतीय सहरमा उडान सञ्चालन गर्ने कुराकानी भ्रमणका क्रममा भारतीय पक्षसँग भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण दुई देश बीचको सम्बन्धलाई सुमधुर बनाउन सफल भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालको कृषि ऊर्जा र औद्योगिक क्षेत्रको विकासका लागि भारतीय लगानी भित्र्याउन दुई देशका उद्योगी, व्यापारीबिच भ्रमणका क्रममा भएको अन्तरक्रिया र छलफलले दूरगामी प्रभाव पार्ने र नेपालले परिवर्तनको अनुभूति गर्ने पनि विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारकर्मीको एक जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भारतको महाकालेश्वर मन्दिरमा आफूले पूजाका लागि पहेँलो वस्त्र लगाएको कुरालाई अन्यथा लिन नहुने भन्नुहुँदै आफूले सबै धर्म संस्कृतिको सम्मान गर्दै आएको प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्ड सहितको नेपाली प्रतिनिधि मन्डलले भ्रमणका क्रममा भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च स्तरीय भेटवार्ता गरेको थियो ।

प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमणका लागि ज्येष्ठ १७ गते बुधबार नयाँ दिल्ली जानुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button