भारतको ४ दिने भ्रमण पूरा गरी प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको ४ दिने भ्रमण पुरागरी आज स्वदेश फर्किनुभएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा मित्रराष्ट्र भारतको चार दिने औपचारिक भ्रमण पुरा गरी प्रधानमन्त्री प्रचण्ड अहिले साँझ नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौँ फर्किनुभएको हो ।
भारतको भ्रमण पुरा गरी फर्किनुभएका प्रधानमन्त्री ‘प्रचण्ड’लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसहित मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा नेपाल सरकारका उच्च अधिकारीहरुले स्वागत गर्नुभयो ।
त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री प्रचण्डलाई सम्मान गारथ सलामी अर्पण गरेको थियो ।
प्रधानमन्त्रीको भ्रमण दलमा मन्त्रीहरू एनपी साउद, डा.प्रकाशशरण महत, रमेश रिजाल, शक्ति बस्नेत सहितको उच्च स्तरीय टोली सहभागी भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च स्तरीय भेटवार्ता गर्नुभएको थियो ।
त्यस क्रममा भारत र नेपालबीच विभिन्न सम्झौता समेत भएका थिए ।
प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्य प्रदेशको इन्दौर पुगेर इन्दौरमा विशेष आर्थिक क्षेत्र तथा फोहोरमैला व्यवस्थापन केन्द्रको भ्रमण गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमणका लागि ज्येष्ठ १७ गते बुधबार नयाँ दिल्ली जानुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्