तपाईँ सुन्दै हुनुहुन्छः

वन कुकुर संरक्षणका लागि सौराहामा अन्तर्राष्ट्रिय सम्मेलन शुरु

चितवन । चितवनको सौराहामा दुर्लभ वन कुकुर (ढोँले) संरक्षणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको सभाहलमा वन तथा वातावरण मन्त्रालयका सचिव रेवतीरमण पौडेलले एक औपचारिक कार्यक्रमका बीच सम्मेलनको उद्घाटन गर्नुभयो ।

सम्मेलनमा चितवन निकुञ्जसहित नेपालमा २५० को सङ्ख्यामा रहेको वन कुकुर विश्वभर २ हजार ५०० को हाराहारीमा रहेको अनुमान गरिएको छ ।

सन् २०१९ मा थाइल्यान्डमा पहिला अन्तर्राष्ट्रिय सम्मेलन गरेपछि वन कुकुरको अनुसन्धान सुरु गरिएको थियो । चार वर्षपछि चितवनको सौराहामा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत अम्बिका खतिवडाले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वन मन्त्रालयका सचिव पौडेलले सम्मेलनबाट तयार हुने कार्ययोजनाका आधारमा वन कुकुर संरक्षण योजना बनाउने बताउनुभयो । सङ्कटापन्न अवस्थामा पुगेपछि वन कुकुरको संरक्षणका लागि अन्तर्राष्ट्रिय स्तरमा चासो बढेको भन्दै उहाँले यसलाई जोगाउने दायित्व सरकारको पनि भएको बताउनु भयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीको अध्यक्षतामा भएका कार्यक्रममा वन विभागका उपमहानिर्देशक नवराज पुडासैनी, नेपाल पक्षी संरक्षण संघका पूर्व अध्यक्ष तथा जेडएसएलका देशीय प्रतिनिधि हेमसागर बराल लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button