तपाईँ सुन्दै हुनुहुन्छः

बढ्दो महँगीले सल्यानका मजदुरलाई दुई छाक टार्न मुस्किल

सल्यान । बढ्दो महँगीले सल्यानका मजदुरलाई दुई छाक टार्न मुस्किल हुन थालेको छ । 

बढ्दो महँगी साँझ बिहानको छाक टार्न कोही खोला किनारमा बालुवा गिट्टी कुटिरहेका छन् त कोही पूर्वाधारका काममा जुटेका छन् । सीमित आय र बढ्दो महँगीका कारण मजदुरको दैनिकी कष्टकर बन्दै गएको छ । 

आफ्नै खेतबारीमा लगाएको अन्नपातले बाह्रै महिना नधान्ने भएकाले दैनिक गुजारा चलाउन खोला किनारमा गिट्टी कुट्नुपर्ने बाध्यता रहेको दार्मा गाउँपालिकाका शिवबहादुर वि.कले बताउनुभयो । बजार भाउ महँगो हुँदै जाँदा दैनिक गुजारा चलाउन धौ धौ हुने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “घरमा भएको अन्नपातले तीन महिना भन्दा बढी पुग्दैन । घरका सन्तानलाई भोकै राख्नु भएन । बाध्यताले गर्दा खोला किनारमा आएर गिट्टी कुट्दै आइरहेको छु ।”

यस्तै, विगत चार वर्षदेखि खोलामा किनारमा गिट्टी कुट्दै आउनु भएकी ७० वर्षीया तलकी वि.कको अवस्था पनि फरक छैन । एक गासकै लागि दिनरात नभनी वृद्धा अवस्थामा पनि उहाँले गिट्टी कुट्दै आइरहनु भएको छ । एक महिना लगाएर कुटेको गिट्टी ३ हजार ५ सय बिक्री हुने र त्यहीबाट आएको पैसाले घर खर्च चलाउँदै आएको उहाँको भनाई छ । 

कामकै लागि मजदुर अन्तरपालिका तथा बाह्य जिल्ला र भारतसम्म पुग्ने गरेका छन् । घरको गर्जो टार्न र छोराछोरीको शिक्षादीक्षाका लागि बाह्य जिल्लामा गएर सडकलगायत अन्य पूर्वाधारका कामहरू गर्दै आइरहेको धनवीर विष्टको भनाई छ । रोजगारीकै लागि पोखरा, स्याङ्जा, काठमाडौँदेखि भारतसम्म पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “के गर्नु घर खर्च चलाउनै पर्‍यो । छोराछोरीलाई पनि पढाउनै पर्‍यो । घरमै बसेर पैसा नआउने । त्यसैले जोखिम मोलेर भएपनि मजदुरी गर्दै आइरहेको छु ।”

मजदुरहरू अव्यवस्थित, असुरक्षित एवं जोखिम समेत मोलेर काम गर्दै आइरहेका छन् । छोराछोरीको लालन पालनको लागि पिरोलिएका मजदुर काममा लगाउने साहुको खोजीमा हुने गरेका छन् । गाउँमा प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन पनि केही राहत भएपनि कामको चिन्ताले सधैँ सताउने गरेको अर्का मजदुर मान सिंह नेपालीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button