तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा तीनै सुरक्षा निकायको सहभागितामा विपद् पूर्व तयारी अभ्यास  

जनकपुरधाम । विपद् जोखिम न्यूनीकरणको तयारी स्वरूप धनुषमा विपद्बाट जोगिनका लागि “विपद् पूर्व तयारी तथा राहत वितरण सम्बन्धी अभ्यास” जनकपुरधामको गंगासागरमा आज सम्पन्न भएको छ ।

बाढीका दृष्टिकोणले निक्कै जोखिममा पर्ने जिल्लाको रुपमा रहेको धनुषा जिल्लामा कमला, जमुनी, वडहरी, औरही जस्ता नदीहरूमा वर्षेनी रुपमा बाढी आएर धनजनको क्षति हुने भएकाले यसबाट हुने धन जनको क्षतिलाई न्यून गर्नका लागि पूर्व अभ्यास गरिएको हो । 

जनकपुरधामका गंगासागरलाई विभिन्न खोला तथा नदी क्षेत्र मानेर नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले नेपाल रेडक्रसको सहभागितामा  पूर्व तयारी स्वरूप अभ्यास गरेको छ । 

पूर्व अभ्यासमा तीनै सुरक्षा अङ्गले रब्बर बोट, डोरी, लाईफ ज्याकेट सहितका सामाग्रीहरूको प्रयोग गरिएको थियो । 

बाढीसहित अन्य प्रकारको विपद् जन्य २३० वटा घटना धनुषामा गत वर्ष हुनुका साथै यसमा परेर १० जनाको मृत्यु भएको छ । 

बाढी तथा विपद्जन्य घटनाका कारणले जिल्लामा १३ करोडको क्षति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो। उहाँले विपद्बाट जोगिनका लागि तथा जोगाउनका लागि सबै प्रकारको तयारी धनुषामा भइरहेको बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जलबाट आउने विपदबाट जोगिनका लागि धनुषाका हरेक युवाहरूले खोला, नदी तथा पोखरीमा पौडी सिक्न आवश्यक भएको बताउनुभयो । 

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जल विपद्को साथै आगलगबाट धनुषामा ठूलो मात्रामा धनजनको क्षति हुने भएकाले हरेक पालिकाले वारुण यन्त्र खरिद गर्नुका साथै विपद्को सामना गर्नका लागि केही बजेट विनियोजन गर्नका लागि आग्रह गर्नुभयो । 

धनुषाको महेन्द्रनगरमा रहेको नेपाली सेनाका गणका प्रमुख सेननी सुरेश देवकोटाले यस पटक विपद्जन्य अवस्थाको सामना गर्नका लागि नदी तथा खोलाको स्थलगत अनुगमन गरेको बताउनुभयो । 

पानी जन्य जोखिममा नेपाल विश्वमा ४ औँ स्थानमा रहेको छ भने भूकम्पीय दृष्टिकोणले ११ स्थानमा र समग्र विपद्जन्य जोखिममा ३० औँ स्थानमा रहेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button