तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियाबाट ‘ह्यासट्याग माया’ को छायाङ्कन सुरु

बर्दिया । चलचित्र ‘ह्यासट्याग माया’ (#माया) को छायाङ्कन बर्दियाबाट सुरु भएको छ । लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो दिन केही दृश्यलाई खिच्दै चलचित्रको छायाङ्कन सुरु गरिएको हो । थ्रिलर विधामा निर्माण हुने चलचित्रको बर्दिया सेड्युल चौध दिनको तय गरिएको छ । चलचित्रको छायाङ्कन बर्दियाकै आसपासमा गरिने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिनुभयो । 

‘नेपालको सुन्दरतालाई पर्दामा ल्याउने कोशिस हाम्रो रहनेछ । यसका साथै बर्दियाको सेटअप पात्रलाई सुहाउँदो पनि छ । यहाँ दुई साता छायाङ्कन गर्ने सेड्युल तय गरेका छौँ’, निर्माता पौडेलले भन्नुभयो । यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्नु भएका निर्देशक राजिव गुरुङले पहिलो दिनको काम राम्रो भएको जानकारी दिनुभयो । 

‘हामीले तय गरेको सेड्युल अनुसार नै काम भइरहेको छ । थ्रिलरमा मनोरञ्जक चलचित्र तयार हुनेछ । हामी प्रस्तुतिसँगै अन्य विषयमा ध्यान दिइरहेका छौँ’, निर्देशक गुरुङले भन्नुभयो । चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय रहेको छ । यसको छायाङ्कन काठमाडौँ २० दिन र धरानमा ५ दिन समेत गरिनेछ । 

शर्मिला थापाको निर्माण रहेको चलचित्रको कथा मायामै केन्द्रित छ ।  यसमा शीर्ष भूमिका निर्वाह गरिरहनुभएकी अभिनेत्री नम्रता श्रेष्ठले एरियल योगा प्रशिक्षकको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिनु भएको थियो ।

‘चरित्रलाई जीवन्त बनाउन समय दिएकी हुँ । पर्दामा देखिदा फिक्का नदेखियोस् भन्ने मेरो प्रयास हरेक चलचित्रमा रहन्छ । यो चलचित्रलाई लिएर निकै उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौँ’,अभिनेत्री नम्रताले भन्नुभयो । रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्ज्वल जोशीको छायाङ्कन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृङ्गार रहेको छ । यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दिलीप पन्त रहनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button