तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रहरी सङ्गठनलाई प्रभावकारी र सफल बनाउन आत्म समीक्षा जरुरी’

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सङ्गठनलाई प्रभावकारी र सफल बनाउन अझै आत्म समीक्षा गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

फाइल तस्बिर

इन्टरपोलको १०० औँ वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई आज प्रहरी प्रधान कार्यालयमा सम्मान गर्दै गृहमन्त्री श्रेष्ठले प्रहरी सङ्गठनलाई अझै प्रभावकारी र सफल बनाउन अझै गम्भीर रूपमा आत्म समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने छ । जनताले पहिलो सरकारसँग भेट्ने व्यक्ति वा पात्र प्रहरी नै हो । नेपाल प्रहरीले जनता र देशको सेवामा केन्द्रित गर्ने गरी काम गरे सरकारको सफलता देखिने छ ।”

प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीले जेठ २ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । इन्टरपोलको १०० औँ वार्षिकोत्सवको अवसर पारेर नेपालीले सगरमाथाको सफल आरोहण गर्नुभएको हो । हाल इन्टरपोलमा एक सय ९५ राष्ट्र सदस्य छन् । इन्टरपोलले शतवार्षिकीमा नेपालले भने सगरमाथाको आरोहण गरेर मनाउने निर्णय लिएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले आरोही नेपालीलाई बधाई पनि दिनुभयो ।

ठगी तथा सङ्गठित अपराधमा नेपाल प्रहरीले गरेको कामबाट आम जनता खुसी भएको बताउँदै उहाँले दबाबमा नपरी कुनै निर्दोष नफसोस् र कुनै दोषी नउम्कियोस् भन्नेमा सचेत रहन आग्रह गर्नुभयो । सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको भन्दै राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिन आफू नहिचकिचाउने श्रेष्ठले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button