अबको मिसन ‘सुशासन’ : मन्त्री गुरुङ
वालिङ । नेपाली कांग्रेसका उपसभापति एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अबको बाटो सुशासनको भएको बताउनुभएको छ ।
कांग्रेस प्रथम भीरकोट नगर सम्मेलनलाई आज स्याङ्जाको बयर घारीमा सम्बोधन गर्नुहुँदै उहाँले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

“भ्रष्टाचारी प्रवृत्ति भएका जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ, कारबाही हुनैपर्छ”, उहाँले भन्नुभयो, “अनुसन्धानलाई अझै प्रभावकारी ढङ्गले अगाडि बढाऔँ, दोषी कोही उम्किन नपाउन् ।” भुटानी शरणार्थी लगायत फाइलमा आफूहरूले प्रधानमन्त्रीलाई साथ दिएको दाबी गर्दै उहाँले यस अभियानलाई निष्कर्षमा पुर्याउनुपर्ने बताउनुभयो । “भ्रष्टाचार प्रवृत्तिको अन्त्य गर्दै देशलाई अब सुशासनको बाटोमा लैजानु आवश्यक छ”, उहाँले भन्नुभयो, “देशमा सुशासन भएको प्रत्याभूति जनतालाई दिनुपर्ने भएकाले अब बोलेर हैन कामबाट देखाउनुपर्ने बेला आएको छ ।”
नागरिकता विधेयकले आमाको नामबाट नागरिकता नपाएका, बाबु आमा नेपाली नागरिक भएर पनि छोराछोरीले नागरिकता नपाएका र गैर आवासीय नेपालीले नेपालको नागरिकता पाउने तर राजनीतिक नेतृत्व गर्न नपाउने गरी तीन वटा कुरा समेटिएको उहाँले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य राजु थापाले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारको आरोप लागेका कसैलाई पनि काँग्रेसले नबोक्ने र दोषी ठहरिएमा कारबाही भएरै छाड्ने बताउनुभयो ।
रासस
प्रतिक्रिया राख्नुहोस्