तपाईँ सुन्दै हुनुहुन्छः

श्री गोदा वेणु गोपाल मन्दिर पुनःनिर्माणका लागि सहयोग जुटाउन महायज्ञ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ स्थित श्री गोदा वेणु गोपाल मन्दिर पुनःनिर्माणका लागि सहयोग जुटाउने उद्देश्यले नौ दिने श्री गोदा वेणु गोपाल श्री महालक्ष्मी पुष्पयाग साङ्ग श्रीमद्भागवत महापुराण सम्पन्न भएको छ ।

सो मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको महायज्ञमा श्री १००८ डा चक्रपाणि आचार्य स्वामीजीले कथा वाचन गर्नुभएको थियो । महायज्ञमा जनार्दन घिमिरेले मूल पाठ पारायण गर्नुभएको मूल आयोजक समितिको अध्यक्षसमेत रहनुभएका श्री १००८ यतीन्द्राचार्य महन्तले जानकारी दिनुभयो । विसं २०२१ मा श्री १००८ श्रीनिवासाचार्यले स्थापना गर्नुभएको मन्दिर विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको थियो । महायज्ञमा करिब ४० लाख रुपैयाँ सहयोग प्राप्त भएको मन्दिरका महन्त यतीन्द्राचार्यले जानकारी दिनुभयो ।

मन्दिर पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिका, काठमाडौँ निर्वाचन–१ बाट निर्वाचित सांसद प्रकाशमान सिंह, बागमती प्रदेशसभा सदस्य एवम् प्रदेशका पूर्व संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ लगायत स्थानीयवासीको सहयोगमा मन्दिर पुनःनिर्माण भइरहेको छ । मन्दिर पुनःनिर्माणका लागि अहिलेसम्म रु १३ करोड खर्च भइसकेको व्यवस्थापन समितिका कोषाध्यक्ष मुकुन्द अधिकारीले जानकारी दिनुभयो । मन्दिर पुनःनिर्माण सम्पन्न गर्न अझै रु पाँच करोड बजेट लाग्ने उहाँले सुनाउनुभयो । बाँकी सहयोग जुटाउने उद्देश्यले नै अनुष्ठान आयोजना गरिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button