तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीका विद्यालयहरूमा अनुगमन तीव्रता 

बैतडी । शिक्षा विकास तथा समन्वय इकाई बैतडीले जिल्लाका विद्यालयहरूको अनुगमन कार्यलाई तीव्रता दिएको छ । 

आज जिल्लाको पाटन नगरपालिकाका विद्यालयहरूको अनुगमन गरिएकोमा बहीबारे जिल्लाको सिगास गाउँपालिका–२ मा रहेको अर्जुन माविको अनुगमन गरिएको थियो । 

अनुगमनपछि सुझाव दिनुका साथै गाउँपालिकाभरिका विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया गरिएको छ । यो कार्यक्रम जिल्लाका १०वटै स्थानीय तहमा गरिने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र प्रसाद अवस्थीले बताउनुभयो । 

इकाई प्रमुख अवस्थीको नेतृत्वमा केही शिक्षा विद्हरूले समेत कक्षा शिक्षण अवलोकन गरेका छन् । 

शिक्षण गर्ने शिक्षकहरूलाई पूर्व जानकारी बेगर शिक्षा अधिकारीहरू विद्यालयमा पुगेका हुन् । कक्षा शिक्षण अनुगमनमा पुगेका शिक्षा अधिकारी र शिक्षा विद्हरूले पाठ योजना बेगर शिक्षण भइरहेको बताउनुभएको छ । 

शिक्षकहरूले अन्तरक्रियात्मक कक्षा सञ्चालन गरेको पाइए पनि शैक्षिक सामग्रीको न्युन मात्रामा प्रयोग भएको सिगास गाउँपालिकाका शिक्षा अधिकृत रमेश प्रसाद भट्टले बताउनुभयो । केही कक्षाका शिक्षकहरूले विद्यार्थीलाई पिट्ने समेत गरेकाले आफ्नो बानी सुधार गर्न सुझाव दिइएको उहाँले  बताउनभयो । 

शैक्षिक क्रियाकलापको अनुगमनपछि शिक्षक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने गरिएको छ । 

अन्तरक्रियाका क्रममा शिक्षकहरूले आफ्नो विद्यालयका समस्याहरू शिक्षा अधिकारीहरूलाई सुनाउने गरेका छन् ।

प्रधानाध्यापकहरूले विद्यालयका भौतिक पूर्वाधारदेखि शिक्षक दरबन्दी अभावका विषयमा शिक्षा अधिकारीहरूलाई जानकारी गराउने गरेका छन् ।

शिक्षकहरूले दरबन्दी मिलान प्रमुख समस्याका रुपमा रहेको बताएका छन् । जिल्लाका केही विद्यालयमा अनावश्यक दरबन्दी भएपनि दुर्गमका विद्यालय दरबन्दी विहीन भएको बताएका छन् । 

भूमिराज मावी सिगासका प्रधानाध्यापक चक्र धामीले विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नका लागि आर्थिक अभाव रहेको बताउनुभयो ।उहाँले शैक्षिक सामग्री खरिद र पुस्तकालय स्थापनाका लागि बजेट प्राप्त नभएको गुनासो सुनाउनुभयो । विद्यालयका खेलकुद सञ्चालन गर्न खेल सामग्री अभाव भएको उहाँको भनाई छ ।

शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाका आधा स्थानीय तहहरूमा अनुगमन सम्पन्न गरि अन्यमा अनुगमन गरिरहेको इकाइका प्रा.स. पुस्कर शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button