तपाईँ सुन्दै हुनुहुन्छः

तालिमले जगायो उद्यमी बन्ने आशा

सोलुखुम्बु । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)मार्फत प्रदान गरिएको लामो अवधिको सिलाइकटाई सम्बन्धी सीप विकास तालिमले स्थानीय महिला उत्साहित भएका छन् । 

आधारभूत तालिम प्रभावकारी रहेकाले उद्यमी बन्ने आशा पलाएको सहभागी विनिता थापाले बताउनुभयो । थप तालिम पाएमा व्यावसायिक रुपमा काम गर्न सकिने भन्दै बजारका लागि स्थानीय तहले गर्नुपर्ने उहाँको भनाइ छ । 

सोलुदुधकुण्ड नगरपालिका तथा विनायक मल्टी स्किल बिजनेस प्रा.लि. र ग्रामीण विकास समाजको आयोजनामा सोलुदुधकुण्ड नगरपालिका ४ का महिलाहरूलाई तालिम प्रदान गरिएको आयोजक संस्थाका सञ्चालक कल्याण बुढाथोकीले जानकारी दिनुभयो । 

सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक गान्धीमाया तामाङले ग्रामीण महिलाको जीवनस्तर उकास्न नगरपालिका लागिपरेको भन्दै सहभागीलाई तालिमको सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा थप तालिम प्रदान गर्न नगरपालिका तयार रहेको आश्वासन दिनुभयो । 

सोही अवसरमा सोलुदुधकुण्ड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकुमार खड्काले तालिम पश्चात् पनि सीपलाई प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । सीपलाई निरन्तरता दिए मात्र निखारता आउने उहाँको धारणा छ ।

सहभागीहरूलाई ३९० घण्टा तालिम प्रदान गरिएको तथा समूहमा सञ्चालन गर्ने गरी सिलाई मेशिन समेत हस्तान्तरण गरिएको उद्यम विकास सहजकर्ता भविसरा बुढाले जानकारी दिनुभयो । 

कार्यक्रममा वडा अध्यक्ष युवास तामाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button