तपाईँ सुन्दै हुनुहुन्छः

नेपालका ओलम्पियनहरु आज पोखरामा भेला हुँदै  

पोखरा । खेलकुद र पर्यटनको शहर पोखरामा खेल पर्यटनको प्रबद्र्धन गर्न पहिलो पटक नेपालका ओलम्पियनहरु आज एकै थलोमा भेला हुने भएका छन् । नेपाल ओलम्पियन्स सङ्घको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो पटक नेपालका ओलम्पियनहरुको भेला हुने भएको संघका अध्यक्ष एवं ओलम्पियन दीपक विष्टले बताउनुभयो । 

पोखरामा नेपालका ओलम्पियनहरुको भेटघाट तथा पुनर्मिलन सहित विविध कार्यक्रम यही जेठ १९ देखि २१ गतेसम्म ऐतिहासिक रुपमा हुने तयारी पूरा भएको उहाँले बताउनुभयो । 

पोखरा महानगरपालिकाको खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको समन्वयमा उपत्यका बाहिर आयोजना हुने कार्यक्रममा जेष्ठ २० गते बिहान प्रभात फेरी तथा सोही साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मुख्य आतिथ्यतामा पुनर्मिलन तथा सम्मान कार्यक्रम हुने भएको छ । जेष्ठ २१ गते सङ्घको वार्षिक साधारण हुनेछ । सोही दिन गण्डकी प्रदेशका खेलाडी, खेलकर्मी तथा खेल प्रेमीहरूसँग ओलम्पियनहरुको अन्तरक्रिया कार्यक्रम हुने अध्यक्ष विष्टले बताउनुभयो । 

६ दशकको अन्तरालमा करिब ९० जना नेपालबाट सहभागी भएका ओलम्पियनहरु मध्य हालसम्म १० जनाको निधन भएको छ भने करिब २० जना जसो विदेशमा रहेका छन् भने बाँकी नेपालमै भएकोले उनीहरूको सहभागिता हुने भएको अध्यक्ष विष्टले बताउनुभयो । पोखरामा ५० देखि ५५ जनासम्म नेपालका ओलम्पियनहरु एकै थलोमा जम्मा हुने ऐतिहासिक कार्यक्रम हुने भएको अध्यक्ष विष्टले दाबी गर्नुभयो । 

सन् १९६४ देखि पछिल्लो २०२० जापानमा आयोजना भएको ओलम्पिक खेलमा सहभागी नेपाली ओलम्पियन खेलाडीहरूको एकै स्थानमा पहिलो पटक भेटघाट तथा पुनर्मिलन हुने व्यवस्था मिलाएको अध्यक्ष विष्टले बताउनु भयो । जापानमा भएको सन् १९६४ देखि नेपालले ओलम्पिकमा सहभागिता हुन सुरु गरेको हो ।

खेल जीवनपछि पनि विभिन्न कार्यक्रम मार्फत सामाजिक काममा आबद्ध हुन ओलम्पियनहरुलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ पुनर्मिलनलगायत अन्य कार्यक्रमको आयोजना गर्न लागिएको हो । 

बिहीबार तयारीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले १९ औँ एसियन गेम्सको सङ्घारमा पोखरामा पहिलो पटक उक्त कार्यक्रम हुनुले खेलाडीहरूलाई ऊर्जा मिल्ने बताउनु भएको छ । पोखरामा खेलकुदकर्मीलाई राम्रो आतिथ्यता गर्ने शहरको रुपमा रहेको उहाँको भनाई थियो । 

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले उक्त कार्यक्रमले नेपाली खेलकुदको लागि मार्गदर्शक हुने बताउनु भयो । प्रदेशले अब वार्षिक रुपमा खेलाडीहरूको भेला गर्ने योजना बनाएको उल्लेख गर्दै प्रदेशको खेलाडीहरूको अध्यावधिक गर्ने समेत उहाँले जनाउनु भयो । 

ओलम्पियन तथा संघका सदस्य भगवती केसीले एक अर्कोमा परिचित हुने उक्त कार्यक्रमले नेपालका ओलम्पियनहरु सार्वजनिक रुपमा एकै पटक चिनिनु र चिनाउनुले धेरै महत्त्व हुने बताउनुभयो । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले सन् २००८ साल देखि पत्रकारहरू पनि ओलम्पिकमा सहभागी हुन थालेको बताउनु भयो । पोखरा महानगर खेलकुद परिषद्का अध्यक्ष दीपक गोदारले नेपालको पहिचान गराउने खेलाडीहरूलाई पोखरामा स्वागत गर्न पाउनु ठुलो कुरा भएको बताउनुभयो । उक्त कार्यक्रमले खेलाडीलाई प्रोत्साहन हुने उहाँले बताउनुभयो । 

नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले नेपालमा ओलम्पियनहरुको तथ्याङ्क समेत नभएको अवस्थामा हाल आफूहरूले ९० जनाको नाम सङ्कलन गरेको उल्लेख गरे । 

नेपालले पहिलो पटक सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रुपमा ओलम्पिकमा सहभागिता जनाउन सुरु गरेको इतिहास छ । सन् १९६३ मा नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) को सदस्यता प्राप्त गरेको थियो ।

झण्डै ६ दशकको अन्तरालमा ९० जना नेपाली खेलाडीले ग्रिष्म (८८ जना) र शीतकालीन ओलम्पिक (२ जना) मा सहभागिता जनाएको तथ्याङ्क छ । त्यसमध्ये १० जना स्वर्गीय भएका छन् । केही ओलम्पियनहरु भने विदेशमा छन् । पोखरामा हुने पुनर्मिलन कार्यक्रममा ५० जना बढी ओलम्पियनहरुको सहभागिता रहने विश्वास लिएको सघले जनाएको छ ।

सर्भिस टु सोसाइटी सर्भिस टु ओलम्पियन भन्ने नाराका साथ विश्वभरका ग्रिष्म र शीतकालीन ओलम्पियनहरुको छाता सङ्गठनका रुपमा विश्व ओलम्पियन सङ्घको स्थापना भएको थियो । सोही सङ्घमा सदस्य राष्ट्रका रुपमा नेपाल ओलम्पियन्स सङ्घको गठन भएको थियो ।

कार्यक्रममा विश्व ओलम्पियन संघका प्रतिनिधिको सहभागिता रहने छ भने कार्यक्रमको स्थानीय व्यवस्थापनका लागि पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति तथा ५ सदस्यीय सल्लाहकार समिति गरिसकिएको छ ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश, पोखरा महानगरपालिका, प्रदेश खेलकुद विकास परिषद् गण्डकीको विशेष सहयोग रहेको छ । सङ्घले भविष्यमा गण्डकी प्रदेशमा हुने स्कुल टु ओलम्पिक कार्यक्रममा समेत गर्ने योजनामा रहेको छ । 

ओलम्पियन पुनर्मिलन कार्यक्रमलाई केल्मी र नेपाल टेलिकमले मुख्य प्रायोजन गरेका छन् । त्यस्तै प्रायोजकमा जिमी ग्रुप, मोतीदान कन्स्ट्रक्सन, सिद्धार्थ बैङ्क, नबिल बैङ्क, रहेका छन् । राइका टुर्स एन्ड ट्रेक्स, नेपाल लिक्वर्स प्रा.ली. एनआरएस स्पोर्टस फाउन्डेसन, क्षमादेवी ग्रुप र स्पोर्टस युनिभर्सको कार्यक्रममा सहयोग रहेको छ । हस्पिटालिटी पार्टनरका रुपमा वर पिपल रिसोर्ट, होटल बाराही, द होटल लेक साइड, होटल बुटिक पोखरा, होटल किग्स पोखरा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button