तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा जारी टि–२० क्रिकेटमा मधेश र सुदूरपश्चिम प्रदेश विजयी

जनकपुरधाम । जनकपुरधाममा जारी रहेको महेन्द्रनारायण निधि टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको दुई वटा खेलमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

नेपाल क्रिकेट संघ मधेश प्रदेशको आयोजना तथा मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्रालयको सहयोगमा जनकपुरधामको रजौलमा निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा आज बिहान भएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।

पहिलो ब्याटिङ गर्दै लुम्बिनी प्रदेशका खेलाडीहरूले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ११३ रन बनाएका थिए । लुम्बिनी प्रदेशका बसीर अहमदले २५ रन तथा आकाश त्रिपाठीले १७ रन बनाए पनि अन्य ब्याट्स म्यानले राम्रो रन जोड्न सकेनन् । मधेश प्रदेशका तर्फबाट विवेक यादवले १९ रन खर्चेर ३ विकेट लिए भने हरिशंकर साहले २ विकेट लिए ।

११४ रनको लक्ष्यसहित खेलमैदानमा उत्रिएको मधेश प्रदेश १६.३ ओभरमा चार विकेट गुमाएर विजय हासिल गर्‍यो । यो मधेश प्रदेशको तेस्रो जीत हो ।

यसै गरि दोस्रो खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश विजयी भएको छ । पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले १९.१ ओभरमा सबै विकेटको क्षतिमा ६७ रन बनाएको थियो ।

६८ रनको लक्ष्यसहित मैदानमा उत्रिएको सुदूरपश्चिमले १७.५ ओभरमा लक्ष्य भेट्टायो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button