तपाईँ सुन्दै हुनुहुन्छः

‘मुक्त हलिया, मुक्त कमैया परिवारको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा मुक्त हलिया, कमैयाहरूका सवाललाई प्राथमिकता दिइने बताउनुभएको छ। 

आज धनगढीमा आयोजित प्रदेश सरकारको आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा मुक्त हलिया, कमैया र कम्लहरीहरुका समस्या सम्बोधनका लागि प्रदेश स्तरीय अन्तर संवाद कार्यक्रममा उहाँले मुक्त हलिया, मुक्त कमैया परिवारको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व भएको बताउनुभयो । 

मन्त्री साउदले आगामी बजेटमा मुक्त हलिया, कमैया र कम्लहरीको व्यवस्थापन लगायत विषय समेटिने बताउनुभयो । 

मुक्त हलिया, कमैया र कम्लहरीहरुका समस्या समाधान गरिनुपर्छ, यतिबेला त्यसका लागि ऐन कानुन पूर्ण नबन्दा काम गर्न समस्या देखिएको उल्लेख गर्दै उहाँले शिक्षा, स्वास्थ्यमा सहज पहुँच पुग्ने गरि मुक्त हलिया, कमैया समुदाय लक्षित बजेट ल्याउन प्रतिबद्ध रहेको बताउनुभयो । 

यस्तै, कार्यक्रममा प्रदेशसभा सदस्य धर्मराज पाठक, संविधान सभा सदस्य हरि श्रीपाईली, दलित अगुवा गणेश विक लगायतले मुक्त हलिया, कमैया र कम्लहरीका लागि प्रदेश  सरकारले चाँडै नीति ल्याउनुपर्ने जोड दिँदै ती समुदायका आधारभूत आवश्यकता परिपूर्ति गर्नु सरकारको जिम्मेवारी भएको बताउनुभयो । 

कार्यक्रममा सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, मुक्त हलिया, मुक्त कमैयाका अगुवा, सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button