तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक गर्मीको कारण वीरगंजका विद्यालय एक साताका लागि बन्द

बीरगंज । अत्यधिक गर्मीको कारण वीरगंजका विद्यालय एक साताका लागि बन्द गरिएको छ । 

अत्यधिक गर्मीको कारण बालबालिकाको पठन पाठन प्रभावित भएपछि वीरगंज महानगरपालिकाले आज एक सूचना जारी गर्दै जेठ १९ गतेदेखि २६ गतेसम्म एक साता वीरगंजका सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । 

वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउतले अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

विगत केही दिनदेखि अत्यधिक गर्मीका कारण बारा, पर्सासहित मध्य तराईको जनजीवन प्रभावित भएको छ । 

बीरगंजमा आज ४२ डिग्री सेल्सियससम्म पुगेको छ । गर्मी बढ्दै गएपछि दिउँसो हिड्डुल गर्ने सर्वसाधारण, काम गर्ने मजदुर तथा कृषि कर्म गर्ने किसानहरू बढी प्रभावित भएका छन् ।  अत्यधिक गर्मीसँगै खानेपानीको धारा सुकेपछि वीरगंजसहित बारा, पर्साको ग्रामीण क्षेत्रमा खानेपानीको समस्या समेत परेको छ । 

अत्यधिक गर्मीको कारण पर्साका ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा पङ्खाको सुविधा समेत नहुँदा विद्यार्थीको स्वास्थ्यमा असर पर्न थालेको छ । पछिल्लो समय बढेको गर्मीमा कक्षा कोठामा पङ्खा नहुँदा विद्यार्थीहरू बेहोस हुन् थालेका छन् । 

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ भतौडास्थित वनदेवी आधारभूत विद्यालयमा आज एक छात्रा अत्यधिक गर्मीकै कारण कक्षा कोठामा बेहोस भएकी छन् । कक्षा ४ मा पढ्ने साबुन नेशा अत्यधिक गर्मीका कारण आज बिहान ९ बजे कक्षाकोठामै बेहोस भएको विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद दासले बताउनुभयो । उनको अहिले वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । 

त्यसैगरी, मारवाडी सेवा ट्रस्ट वीरगन्जले चर्को गर्मी बढेसँगै  निःशुल्क सर्बत, आँप एवं फ्रुटी जुस वितरण गरेको छ । 

वीरगन्ज को राणिसती मन्दिर मेनरोडमा आयोजित सो निःशुल्क सेवाबाट आउने जाने पर्यटकहरू, बटुवाहरू, रिक्सा ,गाडी एवं मोटरसाइकल चालकहरू एवं यात्रु हरू लगायत विभिन्न विद्यालय कलेज का विद्यार्थीहरू गरि करिब दुई हजार लाई सेवा प्रदान गरिएको ट्रस्टका महासचिव नरेन्द्र शाहले बताउनुभयो ।  

सो अवसरमा मारवाडी सेवा ट्रस्टका अध्यक्ष बाबुलाल चाचान, उपाध्यक्ष मुर्ली रुङ्टा– विश्वनाथ गोयन्का– विरेन्द्र सघाइ,महासचिव नरेन्द्र शाह, लगायतको सहभागिता रहेको थियो ।

यसैगरी, बढ्दो गर्मीलाई मध्यनजर गरि बीरगंजका विभिन्न स्थानमा चिसो पानी तथा सातु निःशुल्क वितरण कार्य भइरहेको छ । 

ग्रिनसिटि सामुदायिक केन्द्र आदर्शनगरले गर्मीबाट प्रभावित १ हजार ३ सयभन्दा बढीलाई आज निःशुल्क सातु खुवाएको केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button