तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरणका लागि पहल गरिने 

बैतडी । बैतडीमा सुर्तीजन्य पदार्थ सेवन न्युनिकरण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

विश्व सुर्तीजन्य पदार्थ रहित दिवस २०२३का अवसरमा स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा अन्तरक्रिया गरिएको हो । 

अन्तरक्रियामा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरणका लागि बनेका नीति नियमका विषयमा छलफल भएको छ । सुर्तीजन्य पदार्थ सेवनले शारीरिक तथा आर्थिक नोक्सानी व्यहोर्नुपर्ने भएकाले यसको सेवन न्युनिकरणका लागि अभियानको थालनी गर्नुपर्ने आवाज उठेको छ । 

नागरिक समाज बैतडीका संयोजक गणेश ठकुराठीले सुर्तीजन्य पदार्थ न्युनिकरणका लागि बनेका नीति–नियमहरूको पूर्ण पालना गरिनुपर्ने बताउनुभयो ।

नियममा फुटकर तथा खिल्ली निकालेर बेच्न नपाइने चुरोट जताततै बेचिने गरेको कुरा मात्रै नियन्त्रण गर्न सके चुरोट सेवन न्युनिकरण हुने बताउनुभयो । खुल्ला रुपमा चुरोट बेच्ने व्यापारीलाई ५हजार जरिवाना गर्ने कानुनी व्यवस्था छ । 

सुर्तीजन्य पदार्थ सेवनका नोक्सानीहरू बारे थाहा हुँदा हुँदै जो कोहीले सेवन गर्ने गरेको स्वास्थ्य कार्यालय प्रमुख योगेश प्रसाद भट्टको भनाई छ । 

सुर्तीजन्य पदार्थको कभरमै सेवन गर्दा हुने नोक्सानीका विषयमा जानकारी दिने गरेको भएपनि बेवास्ता गरिएको उहाँले बताउनुभयो । हरेक कार्यालयहरूमा सुर्तीजन्य पदार्थ सेवन न्युनिकरण सम्बन्धीका जनचेतनामूलक सन्देशमूलक सामग्री टाँस्नुपर्ने कार्यक्रम कार्यान्वयन नभएको उहाँको भनाई छ । 

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले स्थानीय स्तरबाट सुर्तीजन्य पदार्थ सेवन विरुद्धको अभियान सञ्चालन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

“सबैभन्दा पहिला आफ्नो घरबाट व्यवहारमा प्रयोग गरौँ, त्यसपछि स्थानीय तह जागरूक भएर सुर्तीजन्य पर्दाथ सेवन न्यूनीकरणको पहल थालौँ, त्यसपछि हामी जिल्ला स्तरमा नेतृत्व गर्न तयार छौँ, तर सबै ठाउँमा प्रहरी खटाएर अभियान सञ्चालन गर्नु असम्भव छ । सबै जना सुर्तीजन्य पदार्थ न्यूनीकरणको अभियानमा साथ दिनुहुन्छ भने हामी नेतृत्व गर्न तयार छौँ ।”, उहाँले भन्नुभयो ।

सुर्तीजन्य पदार्थ न्युनिकरणका लागि बनेका कानुनहरूको उल्लङ्घन भएको उजुरी आएमा कारबाही गर्ने प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताउनभयो । नजिकको प्रहरी कार्यालयमा उजुरी दिन उहाँको आग्रह छ ।

सुर्तीजन्य पदार्थ बिक्रीका लागि अलग्गै इजाजत पत्र लिनुपर्नेमा केही व्यापारीले उक्त नियमको पालना गरेको उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले बताउनुभयो । 

दैनिक छाक टार्ने आय स्रोत नभएका व्यक्तिको घरमा समेत अत्यधिक मात्रामा सुर्तीजन्य पदाए सेवन गर्ने स्थित रहेकाले यसको न्युनिकरण जरुरी रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button