तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय हितका द्विपक्षीय सहमति हुन्छन् : मन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा राष्ट्रिय हितमा द्विपक्षीय सहमति र सम्झौता हुने बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयको अवलोकनपछि प्रधानमन्त्रीको बुधबारदेखि हुने भारत भ्रमणबारे जानकारी दिनुहुँदै उहाँले भ्रमणका क्रममा आफ्नो नेतृत्वको मन्त्रालयका विषयमा हुने सहमति र सम्झौताबारे जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलमा सहभागी रहनुहुने मन्त्री रिजालले भ्रमणका क्रममा पारवहन सन्धि नवीकरण हुने, दुई देशबीच थप पेट्रोलियम पाइपलाइन विस्तारका विषयमा पनि सहमति हुने बताउनुभयो । सुगौली र चारआली क्षेत्रको पेट्रोलियम पाइप लाइनमा भारतले सम्पूर्ण खर्च लगाउने र अमलेखगन्जदेखि लोथरसम्मको काममा भारतले पाइपलाइन ओछ्याउन दिने तथा टर्मिनल ट्याङ्क नेपालले बनाउने योजना रहेको मन्त्री रिजालले बताउनुभयो ।

यसैगरी भैरहवामा एकीकृत भन्सार चौकीको शिलान्यास गर्ने र नेपालगञ्जमा एकीकृत भन्सार चौकीको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो। दोधारा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाहलाई अघि बढाउने सन्दर्भमा पनि कुराकानी हुने मन्त्री रिजालको भनाइ थियो । जुट निर्यातमा लगाइएको एन्टिडम्पिङ लगायतको विषय र नेचुरल ग्यास ल्याएर नेपालमा रासायनिक मल कारखाना राख्ने विषयमा पनि कुरा हुने उहाँले बताउनुभयो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल बुधबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमण दलमा मन्त्री, नेपाल सरकारका उच्च सरकारी अधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहने छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल गर्नुहुनेछ । भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले नेपाली राजदूतावासमा नेपाली समुदायसँग छलफल गर्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button