तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा ‘साहसिक पर्यटन’ सम्बन्धी तस्बिर प्रदर्शनी सुरु

पोखरा । पर्यटकीय सहर पोखरामा नेपालको साहसिक पर्यटनसम्बन्धी तस्बिर प्रदर्शनी आजदेखि सुरु भएको छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल मार्ट–२०२३ को अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले तस्बिर प्रदर्शनी आयोजना गरेको हो ।

होटल पोखरा ग्राण्डमा आयोजित उक्त प्रदर्शनीको माल्दिभ्सका पर्यटनमन्त्री अब्दुल्लाह मौसुम र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले शुभारम्भ गर्नुभयो । प्रदर्शनीको उद्घाटनपछि माल्दिभ्सका पर्यटनमन्त्री मौसुमले तस्बिर हेरेपछि पूरै नेपाल घुमेको अनुभूति भएको बताउनुभयो । नेपाली फोटो पत्रकारले खिचेका उत्कृष्ट तस्बिर हेर्न पाउँदा खुसी लागेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँसँगै सम्मेलनमा भाग लिन आएका विशिष्ट विदेशी पाहुनाले प्रदर्शनीको अवलोकन गरेका थिए । तस्बिर प्रदर्शनी चार दिनसम्म चल्ने ‘एनएफपिजे’का केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिनुभयो ।

प्रदर्शनीमा ३० नेपाली फोटो पत्रकारले खिचेका साहसिक पर्यटनसँग सम्बन्धित ६० भन्दा बढी तस्बिर राखिएको छ । पाटा शिखर सम्मेलन र एडभेञ्चर ट्राभल मार्टमा आउने देश विदेशका पाहुनालाई नेपाल चिनाउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको ‘एनएफपिजे’ले जनाएको छ ।

‘पाटा’ एसिया–प्रशान्त क्षेत्रका पर्यटन तथा ट्राभल सङ्घसंस्थाको छाता संस्था हो । नेपाल सरकार, नेपाल पर्यटन बोर्ड तथा पाटाको आयोजनामा नेपालमा पहिलोपटक उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रममा विभिन्न २२ देशका एक सय ६० जना क्रेता र बिक्रेतासहित झण्डै दुई सय ५० जनाको सहभागिता रहने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बताउनुभयो ।

माल्दिभ्सका पर्यटन मन्त्रीसहित सात देशका पर्यटन हेर्ने निकायका उच्च पदाधिकारीले पनि शिखर सम्मेलनमा भाग लिने जनाइएको छ । नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएपछि पहिलोपटक सम्मेलन आयोजना गर्ने अवसर पाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button