जनकपुरधाममा जारी टि–२० प्रतियोगितामा मधेश र बागमती विजयी
जनकपुरधाम । जनकपुरधाममा जारी टि–२० क्रिकेट प्रतियोगिताको दुई वटा खेलमा मधेश र बागमती प्रदेश विजयी भएका छन् ।
जनकपुरधामको रजौलमा रहेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा आज बिहान भएको खेलमा कोशी प्रदेशलाई बागमतीले ३ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ । कोशी प्रदेश हिजो भएको उद्घाटन खेलमा मधेश प्रदेशसँग पराजित भएका थियो ।

यसैगरी दोस्रो खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई ७२ जनले पराजित गर्दै दोस्रो जीत हासिल गरेको छ । टस जितेर ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरको खेलमा १७२ रन बनाएको थियो ।
मधेश प्रदेशका तर्फबाट अनिल साहले ३७ बलमा ६२ रन बनाएका थिए भने पवन सर्राफले ४१ बलमा ५१ रन बनाएका थिए । प्रतिउत्तरमा ब्याटिङ गरेको गण्डकी १९.३ ओभरमा सबै विकेट गुमाएर १०० रनमा अल आउट भएको थियो ।
नेपाल क्रिकेट संघ मधेश प्रदेशको आयोजनामा भएको प्रतियोगितामा सात वटै प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी सहभागी छन् ।
प्रतियोगिता जेठ २६ गतेसम्म चल्नेछ । प्रतियोगितामा विजेता टिमलाई ३ लाख तथा उपविजेतालाई २ लाख नगद सहित शिल्ड तथा प्रमाणपत्र एवं पदक प्रदान गरिने छ ।
प्रतिक्रिया राख्नुहोस्