तपाईँ सुन्दै हुनुहुन्छः

भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिन्छ : मन्त्री साउद

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताउनुभएको छ ।

file photo

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई लिएर आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री साउदले सीमा लगायतका मुद्दाहरूमा नेपालले आफ्नो दृष्टिकोण भ्रमणका क्रममा राख्ने बताउनुभयो ।

परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री भारत भ्रमणका क्रममा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग लगायतका मुद्दाहरूलाई अगाडि बढाइने पनि बताउनुभयो ।

यस्तै भ्रमणका क्रममा नेपालमा जलविद्युत उत्पादन बढाउने र उत्पादनमा भारतीय लगानी सुनिश्चित गर्ने विषयलाई मुख्य जोड दिइने, भारतीय भूमि प्रयोग गरी बङ्गलादेशमा ऊर्जा व्यापार गर्न भारतको सहयोग लिने भ्रमणको मुख्य विषय रहेको मन्त्री साउदले बताउनुभयो ।

मन्त्री साउदले सरकारले भारतसँग गरिएका सम्झौताहरूको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरूको पूर्ण कार्यान्वयन हुने गरी नेपाल सरकार अगाडी बढ्ने बताउनुभयो ।

भ्रमणका क्रममा पञ्चेश्वर परियोजना, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगका केही असमझदारीलाई हटाउने बारेमा पनि भारतीय पक्षसँग छलफल गरिने जानकारी मन्त्री साउदले दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने मन्त्री साउदले बताउनुभयो ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण भोलि जेठ १७ गतेदेखि २० गतेसम्म हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button