बहिरा विद्यार्थीलाई बस उपलब्ध गराउने नगर प्रमुखको घोषणा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बहिरा विद्यार्थीका लागि बसको व्यवस्था मिलाइने बताउनुभएको छ ।

वीरगञ्जमा आजदेखि सुरु भएको सरोकारवालाहरूका लागि १० दिने आधारभूत साङ्केतिक भाषा तालिमको उद्घाटन गर्नुहुँदै उहाँले बहिरा विद्यार्थीहरूको आवागमन सहज बनाउन यातायातको प्रबन्ध मिलाइने बताउनुभएको हो । महानगर क्षेत्रमा २ सय जना बहिरा विद्यार्थी रहेको भन्दै उहाँले उनीहरूको शिक्षाको प्रबन्ध महानगरले गरिरहेको जानकारी दिनुभयो ।
अहिले पठनपाठन भइरहेको स्थानबाट सारेर अर्को स्थानमा सुविधा सम्पन्न विद्यालय बनाउने काम अघि बढाइएको भन्दै उहाँले बहिरा बालबालिकाहरूको उज्ज्वल भविष्यको लागि सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो ।
बहिराहरूको विचार, भावना बुझ्न सकियोस् भनेरै महानगरले साङ्केतिक भाषाको तालिमका लागि सहयोग गरिएको उहाँले बताउनुभयो ।
तालिममा १५ जनाको सहभागिता रहेको छ । पर्सा बहिरा सङ्घकी उपाध्यक्ष समीक्षा सापकोटाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, बहिरा संघ पर्साका अध्यक्ष सगुन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्