जनकपुरधामको संकटमोचन विद्यालय अनिश्चितकालका लागि बन्द

जनकपुरधाम । जनकपुरधामको नाम चलेको संकटमोचन देवशरण रामरति माध्यमिक विद्यालय भित्र प्रवेश गरेर शिक्षकमाथि भएको कुटपिटको घटनालाई लिएर सो विद्यालयको पठन पाठन अनिश्चितकालका लागि बन्द गरिएको छ ।
सो विद्यालयको निम्न माध्यमिक तहको कम्प्युटर शिक्षक अखिलेश झालाई एक समूहले योजनाबद्ध रुपमा विद्यालयमा प्रवेश गरेर कुटपिट गरेकोमा दोषीहरूलाई पक्राउ गरेर कारबाही नगरेसम्म विद्यालयको पठन पाठन ठप्प रहने विद्यालयले जनाएको छ ।
विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिको हिजो बसेको बैठकबाट दोषीलाई पक्राउ गरेर कारबाही नगरेसम्म विद्यालयको पठन पाठन ठप्प रहने जनाएको छ ।

जनकपुरधाममा भएको सामुदायिक विद्यालयहरू मध्ये सबैभन्दा बढी विद्यार्थीहरू भएको सो विद्यालयमा आइतबार घटेको घटनाको विरोधमा शिक्षकहरूले प्रहरीमा लिखित रुपमा कारबाहीका लागि उजुरी पनि दिएको छ ।
यसै बीच नेपाल शिक्षक संघ नगर समितिले शिक्षक माथि हातपात गर्ने दोषी माथि कारबाही नभएको खण्डमा नगर भरिका विद्यालयका शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा उत्रने जनाएको छ । संघका नगर अध्यक्ष गौरी शंकरलाल कर्णले असामाजिक तथा गैर अभिभावकले आइतबार १ः३० बजे विद्यालयमा प्रवेश गरेर शिक्षक माथि हातपात गरेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्