तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचारविरुद्धको आन्दोलन माओवादीबाट मात्रै सम्भव छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई राजनीतिक, वैचारिक, साङ्गठनिक र सांस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौती रहेको बताउनुभएको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकमा उहाँले उक्त कुरा बताउनुभएको हो । 

उहाँले भन्नुभयो, “पार्टीका सबै निकाय व्यवस्थित बन्न नसक्दा सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्चमा रहनुभएका कमरेडलाई उचित सम्मान र जिम्मेवारी दिन सकिएको छैन ।” उहाँले पार्टी राम्रो नभए त्यसको असर सबैतिर पर्ने भएकाले पार्टीलाई राम्रो बनाउन विचारलाई स्पष्ट गर्ने, सङ्गठन र अनुशासनलाई कायम गर्ने र संस्कृति, आचरण र कार्यशैलीलाई सच्याउने कुरा नै मुख्य भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही आशाको बलमा आफूहरू सरकारको नेतृत्वमा आएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले सरकारको मात्र नेतृत्व गरेका छैनौँ, राष्ट्रिय सहमतिको नेतृत्वको लिन पनि सक्षम भएका छौँ ।”

प्रधानमन्त्री दाहालले विगतका अनुभवका आधारमा यसपटक सरकारको नेतृत्व भिन्न ढङ्गले सङ्कल्पका साथ लिएको बताउनुभयो । उहाँले देशको अहिलेको आर्थिक स्थितिलाई सहजीकरण गर्ने र जनतामा सेवा प्रवाहलाई सरल गर्ने कार्यमा सरकार केन्द्रित भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “अब राजनीतिक परिवर्तन त भयो तर राष्ट्र र जनताको जीवनमा र यसको प्रतिष्ठा अभिवृद्धि गर्ने कुरामा खासै परिवर्तन भएको छैन । यसको फाइदा जनतालाई भ्रम दिनेहरूबाट हुन थालेको छ । त्यसका लागि अब जनतामा नयाँ आन्दोलन वा नयाँ खालको क्रान्तिको आवश्यकता भएको छ ।”

प्रधानमन्त्री दाहालले जनताको पक्षमा काम गर्ने माओवादीबाट भ्रष्टाचार नियन्त्रण, सुशासन अभिवृद्धि र समृद्धि सम्भव भएको बताउनुभयो । “अरूले गर्दा यो सम्भव हुने कुरा होइन । त्यही दृढ सङ्कल्पका साथ  भ्रष्टाचारविरुद्धको आन्दोलन सुरु गरिएको हो । यो विद्यमान विकृति र विसङ्गतिका विरुद्धको आन्दोलन हो”, उहाँले भन्नुभयो । 

अनियमितता, भ्रष्टाचारसम्बन्धी अन्य फाइल पनि सरकारले क्रमशः खोतल्ने जानकारी दिँदै प्रधानमन्त्री दाहालले ठूल्ठूला भ्रष्टाचारका काण्डको खोजीनिती गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यसले जनतामा अब केही हुन्छ भन्ने विश्वास जगाउँछ । हामीले वर्षौंदेखि थुप्रिएर बसेको विसङ्गति रातारात अन्त्य हुने कुरा पनि होइन ।”

प्रधानमन्त्रीले भोलिदेखि हुने भारत भ्रमणका बारेमा स्पष्ट गर्दै नेपाल राष्ट्रको हितमा दुई देशबीच केही नयाँ होस् भन्ने आफूले चाहेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “भोलि सम्मका लागि नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन् भन्ने मैले चाहेको छु ।”

उहाँले विद्युत्, सीमा, पारवहनलगायत विषयमा राम्रो गर्ने आफ्नो चाहना भएको बताउनुभयो । देशभित्र मात्र होइन देश बाहिर पनि आफूले राम्रो मात्र गर्ने राम्रो गर्न नसके नराम्रो गर्दै नगर्ने सङ्कल्प गरेको उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “केही राम्रो गर्नका लागि बिहानदेखि बेलुकासम्म म युद्धको बेलामा भन्दा व्यस्त छु ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button