तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा पाटा वार्षिक शिखर सम्मेलन शुरु हुँदै 

पोखरा । पर्यटकीय नगरी पोखरामा आजदेखि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन तथा तेस्रो संस्करणको एडभेन्चर ट्राभल मार्ट हुने भएको छ । 

यही जेठ १९ गतेसम्म पोखरामा सञ्चालन हुने उक्त कार्यक्रमको अन्तिम तयारी पूरा भएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनञ्जय रेग्मीले बताउनुभयो । 

उहाँका अनुसार उक्त कार्यक्रमको उद्घाटन भने आज मङ्गलवार पोखराको ग्राण्ड होटलमा बेलुका ५ः३० बजे हुने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त कार्यक्रमको उद्घाटन गर्नु हुने कार्यक्रम तय गरिएको सिइओ रेग्मीले बताउनुभयो ।

नेपालको मुख्य पर्यटकीय स्थल पोखरामा हुने उक्त कार्यक्रमले हाल कोभिड–१९ र आर्थिक मन्दीको प्रभावलाई केही हदसम्म चलायमान बनाउन मद्दत पुग्ने उद्देश्यले उक्त कार्यक्रम पोखरामा गर्न लागिएको उहाँले बताउनुभयो । उनले भन्नुभयो “कोभिड–१९ पछि प्रभावित भएको नेपालको समग्र पर्यटन क्षेत्र र मुख्य गरी गण्डकी प्रदेश र प्रदेश राजधानी पोखराको पर्यटनका लागि मार्ट र शिखर सम्मेलन कोसेढुङ्गा हुने सावित हुने छ ।” 

उक्त कार्यक्रममा सहभागी हुन २२ देशका १ सय ६० जना अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुने भएको सिइओ रेग्मीले बताउनुभयो । कार्यक्रममा भने अन्तर्राष्ट्रिय प्रतिनिधि, क्रेता तथा बिक्रेता सहित २ सय ५० जनाको सहभागिता हुने भएको उहाँले जनाउनु भयो । उक्त कार्यक्रमले नेपाल तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने र काम गर्ने अवसर प्रदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

एडभेन्चर मार्टमा विश्वभरका कबिर २ सय ५० जना अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा उक्त कार्यक्रम पोखरामा हुनुले पोखरा सहित नेपालको समग्र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पाटा इन्टरनेसनलका सचिव/कोषाध्यक्ष सुमन पाण्डेले बताउनुभयो । 

विश्वका विभिन्न देशका मन्त्रीहरू, अन्तर्राष्ट्रिय पर्यटन संघ संस्थाका उच्च पदस्थ अधिकारीहरू, विशिष्ट पाहुना, विभिन्न देशका पर्यटन क्षेत्रका विज्ञहरू, विभिन्न देशका पर्यटन व्यवसायी एवं विश्वका विभिन्न सञ्चार माध्यमहरूका सञ्चारकर्मीहरूको उपस्थिति हुने भएको सचिव÷कोषाध्यक्ष पाण्डेले बताउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ट्राभल उद्योगका ख्याति प्राप्त बत्ताहरूले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटनको लगायतको विषयमा बिचार राख्ने तथा सहभागीबिच छलफल हुने भएको उहाँले बताउनुभयो । 

पाटा इन्टरनेश्नलका उपाध्यक्ष वेल्लीयाओले सुन्दर पोखरामा उक्त कार्यक्रम हुनुले यस क्षेत्रको समग्र पर्यटन प्रबद्र्धन हुने भएको बताउनु भयो । अन्तर्राष्ट्रिय स्तरको उक्त कार्यक्रम पोखरमा हुनुले यसमा महानगरले पनि सहकार्य गरेको पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाले बताउनु भयो । पोखरामा गणतन्त्र दिवसको अवसरबाट रत्न मन्दिर खुल्ला हुनुले पोखराको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने उहाँले बताउनु भयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा ऐतिहासिक रुपमा हुने उक्त कार्यक्रमलाई सफल पार्न आफूहरू कटिबद्ध भएको बताउनुभयो । 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक काशीराम भण्डारीले पाटाको उक्त कार्यक्रम पश्चात् नेपालको पर्यटन सन् २०१९/०२० को अवस्थामा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  उक्त कार्यक्रममा प्रसिद्ध ब्लगरहरुको समेत सहभागिता हुने कार्यक्रम पछि लुम्बिनी, चितवन, बर्दिया, जोमसोम लगायतका ठाउँमा अध्ययन अवलोकन तथा भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ । 

नेपाल पर्यटन बोर्डले होष्ट गरेको पाटाको मुख्य आयोजनामा हुने उक्त कार्यक्रम पोखरा पर्यटन परिषद्ले सहकार्यमा गरेको छ भने पोखरा महानगरपालिका संरक्षक रहेको छ । नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button