तपाईँ सुन्दै हुनुहुन्छः

प्रविधिको दुरुपयोग गरी महिला माथि दुर्व्यवहार हुनेक्रम बढ्नु थप चिन्ताजनक : निर्वतमान राष्ट्रपति भण्डारी

काठमाडौं । निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका नेपालीहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा भण्डारीले २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण ४ वटा ‘विशेष प्रस्ताव’ पारित गरी नेपाली महिलाको अधिकारलाई नीतिगत र कानुनी रूपमा सुनिश्‍चित गर्ने आधार निर्माण गरिकएको दिनको स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिको लागि भएका आन्दोलनमा योगदान गर्ने अग्रजहरूको स्मरण गर्नुभएको छ ।

सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले महिला सहभागिताको विषय ‘आरक्षण’ नभएर नेपाली महिला आन्दोलनको प्रकाशबाट स्थापित अधिकारको उपयोग हो भन्ने कुरालाई सबैले आत्मसात गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

नीतिगत, कानुनी तथा कार्यक्रमिक प्रयासहरूका बाबजुद पनि अझैपनि महिलाहरु विभेद, दुर्व्यवहार र हिंसाबाट पूर्ण रूपमा सुरक्षित रहन नसकेको भन्दै उहाँले नेपाली समाजमा बालविवाह‚ बहुविवाह‚ दाइजो तथा तिलक प्रथा‚ छाउपडी प्रथा‚ बोक्सीको आरोप लगायत महिलाद्वेषी सामाजिक सांस्कृतिक प्रथा र परम्परा कायम रहनुले हाम्रो सभ्यतामाथि नै उपहास भइरहेको उल्लेख गर्नुभएको छ । सुभकामना सन्देशमा उहाँले सूचना प्रविधिको विकास एवं विस्तारका कारण आज महिला तथा बालबालिकाहरू अनलाइन यौनदुर्व्यवहार र उत्पीडनबाट समेत पीडित बन्ने क्रम बढ्नु थप चिन्ताको विषयभएको उल्लेख गर्नुभएको छ ।

सन्देशमा उहाँले राष्ट्रिय महिला अधिकार दिवसबाट समाजमा विद्यमान पुरातन सोच, शैली, प्रथा र परम्परामा परिवर्तन गर्दै लैङ्गिक समानतायुक्त सभ्य‚ सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न सबैलाई प्रेरणा प्राप्त होस् भन्ने विश्वास व्यक्त गर्नुुभएको छ ।

पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस, २०८० को हार्दिक शुभकामना

पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा म महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिको लागि भएका आन्दोलनमा योगदान गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान प्रकट गर्दछु ।

२०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण ४ वटा ‘विशेष प्रस्ताव’ पारित गरी नेपाली महिलाको अधिकारलाई नीतिगत र कानुनी रूपमा सुनिश्‍चित गर्ने आधार निर्माण गरिएको दिनको स्मरण स्वरूप जेठ १६ गतेलाई ‘राष्ट्रिय महिला अधिकार दिवस’का रूपमा मनाउन थालिएको यो पाँचौँ वर्ष हो । उक्त विशेष प्रस्तावलाई तत्कालीन अन्तरिम संविधानले आफ्नो अङ्गको रूपमा ग्रहण गरेको थियो भने वर्तमान संविधानले त्यसलाई थप संस्थागत र सुदृढ गर्दै समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिलाको उपस्थिति सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ । यसै सन्दर्भमा आज हामी ‘महिला हक अधिकार: सवैको साझा सरोकार’ भन्ने मूल विषयका साथ पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस मनाउँदैछौँ । यस अवसरमा महिला सहभागिताको विषय ‘आरक्षण’ नभएर नेपाली महिला आन्दोलनको प्रकाशबाट स्थापित अधिकारको उपयोग हो भन्ने कुरालाई सबैले आत्मसात गर्न आवश्यक छ ।

हामीले सुनिश्चित गरेका संवैधानिक तथा कानुनी व्यवस्थाको फलस्वरूप आज राज्यका निकाय तथा सार्वजनिक क्षेत्रमा महिला सहभागिता क्रमश: वृद्धि हुँदै गएकोछ । तथापि एकतिहाई महिला सहभागिताको संवैधानिक प्रावधानलाई व्यवहारमा उतार्न राज्यका सबै अङ्गहरूका साथै राजनीतिक दलहरूले विशेष ध्यान दिनु पर्दछ । सहभागिता वा उपस्थितिलाई सशक्तीकरणको पहिलो पाइला मात्र मान्न सकिन्छ । महिलाको क्षमता विकासमार्फत नेतृत्व तहमा प्रभावकारी भूमिका खेल्दै मुलुक र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने लैंगिक समानता हासिल गर्नु हाम्रो मुख्य उद्देश्य रहनुपर्दछ । यस दिशामा हामीले गर्नुपर्ने कामहरू धेरै नै बाँकी छन् ।

यसरी नीतिगत, कानुनी तथा कार्यक्रमिक प्रयासहरूका बाबजुद आज पनि विभेद, दुर्व्यवहार र हिंसाबाट महिलाहरूलाई पूर्ण रूपमा सुरक्षित गर्न सकिएको छैन । आज पनि नेपाली समाजमा बालविवाह‚ बहुविवाह‚ दाइजो तथा तिलक प्रथा‚ छाउपडी प्रथा‚ बोक्सीको आरोप लगायत महिलाद्वेषी सामाजिक सांस्कृतिक प्रथा र परम्परा कायम रहनुले हाम्रो सभ्यतामाथि नै उपहास भइरहेको अनुभूति हुन्छ । यसका साथै, सूचना प्रविधिको विकास एवं विस्तारका कारण आज महिला तथा बालबालिकाहरू अनलाइन यौनदुर्व्यवहार र उत्पीडनबाट समेत पीडित बन्ने क्रम बढ्नु थप चिन्ताको विषय बनेको छ ।

राष्ट्रिय जीवनका सबै क्षेत्रमा महिलाको अर्थपूर्ण र सम्मानजनक सहभागिता प्रत्याभूति गराउन पुरुष र महिला दुवैको सक्रिय भूमिका आवश्यक हुन्छ । लैङ्गिक समानताले पुरुषको जिम्मेवारीलाई समेत सहज, सशक्तीकृत र परिणाममुखी बनाउँछ, जसबाट परिवार, समाज हुँदै राष्ट्रको जीवनमा महिला र पुरुषको बराबर भूमिका स्थापित हुन सक्दछ । तसर्थ, सहअस्तित्वको शाश्वत सत्यलाई आत्मसात गर्न राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै महिलालाई शिक्षा, स्वास्थ्य र राष्ट्रिय उत्पादनमा व्यापक सहभागी गराउन आजको अपरिहार्य आवश्यकता हो ।

राष्ट्रिय महिला अधिकार दिवसबाट समाजमा विद्यमान पुरातन सोच, शैली, प्रथा र परम्परामा परिवर्तन गर्दै लैङ्गिक समानतायुक्त सभ्य‚ सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न सबैलाई प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।

धन्यवाद ।

२०८०जेठ १६ गते, मंगलबार ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button