तपाईँ सुन्दै हुनुहुन्छः

सुनवलमा जिल्लामै पहिलो महिला विद्यालय सञ्चालनमा

नवलपरासी ।नवलपरासी जिल्लामै पहिलो पटक सुननवल नगरपालिका महिला विद्यालयको शुभारम्भ गरेको छ ।

मूलतः गृहणि महिलाहरूलाई लक्षित गर्दै लुम्बिनी समता महिला विद्यालयको शुरु गरिएको हो । बिहान घरको काम सकेर आफ्ना बालबालिकालाई विद्यालय पठाइसकेपछि विद्यालय जाने र विद्यालयबाट आफ्ना बालबालिका घर नर्फकिदै घरमै पुग्ने गरी ११ बजे देखि ३ बजे सम्म पठनपाठन हुने गरि विद्यालय सञ्चालनमा आएको हो ।

लुम्बिनी माध्यमिक विद्यालयमा सञ्चालन भएको महिला विद्यालयमा कक्षा ४ देखि १० कक्षा सम्म महिलाहरूलाई भर्ना गरी पठनपाठन सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक हुमनाथ सुबेदीले जानकारी दिनुभयो । महिला विद्यालयको सोमबार
एक कार्यक्रमको बिच जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले उद्घाटन गर्नु भएको हो ।

महिला विद्यालयको उद्घाटन गर्दै समन्वय समिति प्रमुख भगौती यादवले जिल्लामै पहिलो पटक महिला विद्यालय सञ्चालनमा आउनु निकै महत्त्वपूर्ण भएको बताउनु भयो । लुम्बिनी समता महिला विद्यालय नामकरण गरेको महिला विद्यालयको दिगोपना को लागी सबैको उत्तरदायित्व रहनुपर्नेमा जोड दिनुभयो ।

महिला दिदिवहिनीहरुलाई सचेत र सिपयुक्त बनाउने लक्ष्यका साथ सुनवल नगरपालिकालाई समृद्ध बनाउने योजना सहित महिला विद्यालयको शुभारम्भ गरेको सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले बताउनुभयो।

महिलाहरूलाई सक्षम र सबल बनाउन का साथै समाज रुपान्तरणको लागी महिला शिक्षित हुन अपरिहार्य रहेको नगरप्रमुख अर्यालको भनाई छ । विविध कारणवश अध्ययन बाट वञ्चित भएका महिलाहरूका लागि अवसर भएको उल्लेख गर्दै पारिवारिक रुपमा समेत अध्ययनको वातावरण तयार हुनुपर्ने अर्यालले बताउनु भयो ।”एउटि महिला शिक्षित हुनु भनेको परिवार मात्रै होइन सिङ्गो समाजनै शिक्षित हुनु हो”नगरप्रमुख अर्यालले भन्नू भयो।

अधिकारमा आधारित समानुपातिक विकास गर्न साथै समता बाट समानता तर्फ अगाडी बढाउनको लागी लुम्बिनी समता महिला विद्यालयको भूमिका रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताउनु भयो ।

त्यस्तै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले सुनवल नगरपालिकामा महिला विद्यालय जिल्लाकै नमुना भएको उल्लेख गर्नुभयो । यसलाई दिगोपनाको लागी विशेष ध्यान दिन समेत अध्यक्ष शर्माले सुझाव दिनुभएको थियो ।

विद्यालय सञ्चालनमा आएपछि अध्ययनलाई निरन्तरता दिन चाहने स्थानीय महिलाहरू हर्षित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button