तपाईँ सुन्दै हुनुहुन्छः

‘कर्णाली करिडोर मिनि म्याराथन’को उपाधि जुम्लाका अधिकारीलाई

सुर्खेत । कर्णाली कोरिडोर ‘मिनि म्याराथन’ दौड प्रतियोगिताको उपाधि जुम्लाका शेरबहादुर अधिकारीले जित्नुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा ‘कर्णाली मृत्यु मार्ग होइन, स्वर्ग मार्ग बनाऊँ र जैविक विविधता संरक्षण तथा पर्यापर्यटनका लागि खेलकुद’ भन्ने मुल नाराका साथ पहिलो पटक आयोजना गरिएको हुम्लाको सल्लिसल्लादेखि सर्केगाड सम्मको ९ किलोमिटर दुरी अधिकारीले ३७ मिनेट ४८ सेकेण्डमा पुरा गरी प्रथम हुनुभएको हो ।

कडा प्रतिस्पर्धा रहेको दौडमा जुम्लाकै प्रकाश कठायत ३७ मिनेट ४९ सेकेण्डमा दुरी पार गरी द्वितीय हुनुभयो भने हुम्लाका सर्जन रावलले ३९ मिनेट ५५ सेकेण्डमा उक्त दुरी पार गर्दै तृतीय स्थान प्राप्त गर्नुभयो ।

प्रथमलाई नगद २४ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई ५ हजार नगदसहित प्रमाणपत्र र मेडलबाट पुरस्कृत गरिएको प्रतियोगिता आयोजक रोयल गैरीसायाँ युवा क्लबका सचिव कविन्द शाहीले जनाकारी दिनुभयो ।

उहाँले कर्णाली कोरिडोरलाई गुणस्तरीय बनाउन सरोकारवाला निकायको ध्यान केन्द्रित गर्नका लागि समेत पहिलो पटक ‘कर्णाली करिडोर मिनि म्याराथन दौड प्रतियोगिता २०८०’ आयोजना गरिएको बताउनुभयो ।

२१ जना सहभागी मिनि म्याराथन दौडको उद्घाटन कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्ज्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button