तपाईँ सुन्दै हुनुहुन्छः

संसदीय समितिका सभापति चयन गर्न सभामुखबाट दलका नेतालाई ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समितिहरूको नेतृत्व चयन नहुँदा संसदीय कामले गति लिन नसकेको विषयमा राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराउनुभएको छ ।

आजको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भन्नुभयो, “संसदीय समितिहरूको नेतृत्व चयन नहुँदा कामले गति लिन सकेको छैन । ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ ।

उपसमितिका बैठक पनि ज्येष्ठ सदस्यको नेतृत्वमै सञ्चालन भइरहेको छ । समितिमा सभापति चयन नहुँदा विधेयकहरूको छलफलले गति लिन सकेको छैन ।

“तपाईँहरूले आजैको मितिदेखि सात दिनभित्र सहमतिबमोजिम सभापति चयन गराउनुहोस् वा सात दिनपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गराउनुहोस्’’ उहाँले भन्नुभयो । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली यही जेठ १४ गते पारित भएपछि दुई संयुक्त समिति गठनका लागि बाटो खुलेको छ ।

संसदीय सुनुवाइ विशेष समितिका सदस्यहरूको मनोनयन भए पनि सभापति चयनको प्रक्रिया अझै सुरु भएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button