तपाईँ सुन्दै हुनुहुन्छः

घरमै पुगेर नागरिकता प्रदान

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जन्मजात फरक क्षमता भएकालाई घरमै गएर नागरिकता वितरण गरेको छ । 

प्रशासनले जन्मजात नै मस्तिष्क घात जस्तो गम्भीर बिरामी भई थला परेकी वीरेन्द्रनगर नगरपालिका–४ एरीचोककी २० वर्षीया रोशनी थापालाई घरमै पुगेर नागरिकता दिएको हो । 

फरक क्षमता भएकी थापाका अभिभावकले जिल्ला प्रशासन कार्यालयमा नागरिकता पाउँ भनेर निवेदन दिनुभएको थियो । निवेदनको आधारमा घरमै आएर नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत सूर्यबहादुर थापाले बताउनुभयो । 

उहाँले जन्मजात नै मस्तिष्क घात रोगले पीडित भएकी रोशनी कार्यालयसम्म आउन नसक्ने अवस्थाका कारणले सहजताका लागि भएपनि घरमै पुगेर राज्यबाट पाइने नागरिकता प्रदान गरिएको जनाउनुभयो । 

नागरिकता पाएपछि रोशनीले राज्यबाट पाईने असाध्य तथा दिर्घरोगीहरुका लागि उपलब्ध सेवा सुविधाका साथै सरकारी अस्पतालमा उपचारमा छुट लगायतका लाभहरू लिन सहयोग पुग्ने उहाँको विश्वास थियो । 

लामो समयसम्म उपचार गर्दा पनि रोग निको हुन नसकेको बताउँदै रोशनीका अभिभावकहरूले घरमै आएर नागरिकता प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button