तपाईँ सुन्दै हुनुहुन्छः

हिमामा बृहत् पढाई मेला: सामुदायिक विद्यालय सुधारको अस्त्र

जुम्ला । सरकारले सामुदायिक विद्यालय सुधारका लागि वर्षेनी करोडौँ लगानी गरेपनि अपेक्षित उपलब्धी हुन सकेको छैन । सरकारी लगानी उपलब्धी विहीन बन्दै छ । 

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेको छ । शैक्षिक, प्रशासनिक तथा भौतिक अवस्था कमजोर भएकै कारण सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनै मुस्किल छ । नीजि विद्यालय प्रतिको बढ्दो आकर्षणले सरकारी लगानीका सामुदायिक विद्यालयहरू रित्तिँदै छन् । स्थानीय तहमा सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन ठोस कार्यक्रम पनि छैनन् ।

यद्यपि, सरकारले सरकारी विद्यालयमा विद्यार्थी टिकाउन छात्रवृत्तिदेखि दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । सङ्घीयतापछि अपेक्षित रुपमा शैक्षिक क्षेत्रको उन्नयका लागि नीति र लगानी भएको पाईदैन् । सामुदायिक विद्यालयको व्यवस्थापनसँगै शिक्षा पनि कमजोर हुने, व्यवहारिक शिक्षाको अभाव र मूलतः शिक्षक, अभिभावक र विद्यार्थीहरू नै जिम्मेवार तथा कर्तव्यनिष्ठ नहुँदा सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किँदै गएको छ ।  जसका कारण स्थानीयमा नीजि विद्यालय प्रतिको आर्कषण बढ्दै गएको छ । जसका कारण सामुदायिक विद्यालयमा लगानी बढेपनि अपेक्षित रुपमा उपलब्धी हासिल हुन सकेको छैन ।

तर जुम्लाको हिमा गाउँपालिकाले नीजि विद्यालय प्रतिको आर्कषण घटाउन, सामुदायिक विद्यालयको शिक्षालाई व्यवहारिक एवम् जीवन उपयोगी बनाउन,विद्यालय सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउने उद्देश्यले जिल्लाकै पहिलो बृहत् पालिका स्तरीय पढाई मेलाको आयोजना गरेको छ । गणतन्त्र दिवसका अवसरमा हिमा गाउँपालिका–२ काइरेलीस्थित हिमा आधारभूत विद्यालयमा आयोजित दुई दिने पढाई मेलामा पालिकाका सात वडाका सात विद्यालयले विभिन्न शैक्षिक स्टल प्रदर्शन गरेका छन् । जसमा स्थानीय स्रोत साधनको प्रयोग गरी निर्माण गरेका कृषि तथा उद्यमशीलता सामाग्री, विषयगत पठन सामाग्री निर्माण, विद्यार्थीहरूले आफै निर्माण गरेका सृजनात्मक सामाग्रीहरू –कथा कविता, निबन्ध, गीत, त्यस्तै, चित्रकला, हस्तकला सम्बन्धी सामाग्री, विद्यालय स्तरमा बनेका शैक्षिक सामाग्रीलगायत विभिन्न स्टलहरू प्रदर्शनी गरेको हिमा आधारभूत विद्यालयका प्रधानाध्यापक महेश रावलले बताउनुभयो  ।

उहाँका अनुसार प्रेरक भनाई, देउडा गीत, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ, नृत्य र कम्प्युटर टाइपिङ प्रतियोगिता समेत गराइएको छ । बाह्य ज्ञान प्राप्तिका लागि मेमोरी गेम समेत खेलाइएको थियो । 

जेठ १४ र १५ गते दिनसम्म सञ्चालित पढाई मेलामा शिक्षक, विद्यार्थी अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो । इच्छा शक्ति भएको खण्डमा सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारमा कुनै कठिनाइ नहुने सन्देश हिमाले पढाइ मेला आयोजना गरेर दिएको छ ।

सामुदायिक विद्यालय सुधारमा हिमाको जोड
जुम्लाको हिमा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक, प्रशासनिक र भौतिक संरचनाको विकासमा सुरुवाती देखिनै जोड दिँदै आएको छ । अध्यक्ष लक्ष्मण शाहीको नेतृत्व पाएसँगै हिमाले सामुदायिक विद्यालयमा डिजिटल हाजिरीदेखि फ्रि वाई फाई जडान गर्ने, सरकारी विद्यालयमा बालबालिकाको पहुँच वृद्धि गर्ने, व्यवहारिक शिक्षामा जोड दिँदै आएको हो । 

पढाई मेला सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने एक अस्त्र हो । अध्यक्ष शाही भन्नुहुन्छ, “विद्यार्थी शिक्षक अभिभावक बीचका ज्ञान सिप अनुभव आदान प्रदान गर्ने, स्थानीय स्रोत साधनबाट विभिन्न सामाग्री बनाउन विद्यार्थीलाई प्रेरित गर्ने, पठन सिपको विकास, सिकाई उपलब्धी हासिल गर्न तथा सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न पढाई मेला गरेका हाँै । मेलालाई सामुदायिक विद्यालयको शिक्षा सुधार गर्ने नयाँ अभ्यासका रुपमा हेरेका छाँै । यस्ता कार्यक्रमले सामुदायिक विद्यालयप्रति नागरिकको सकारात्मक धारणा विकास हुने समेत अपेक्षा छ ।”

उहाँका अनुसार मेलाकै अवसरमा गाउँपालिकाको शिक्षा नीति–२०७९ समेत विमोचन गरिएको छ । पालिकाभर रहेका २३ वटा सामुदायिक विद्यालयकै शैक्षिक अवस्था सुधार गर्न, बालबालिकाको पहुँच वृद्धिका लागि शिक्षा नीति काशेढुंगा सावित हुने अपेक्षा गरिएको अध्यक्ष शाहीको भनाई छ । 

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले सामुदायिक विद्यालयको सुधारका लागि हिमा गाउँपालिकाले गरेको काम अनुसरणयोग्य रहेको बताउनुभयो । भौतिक विकासले मात्र समाज रूपान्तरण सम्भव नहुने तथ्यलाई आत्मसाथ गर्दै हिमा गाउँपालिकाले शैक्षिक क्षेत्रमा गरेको अनुकरणीय कामलाई जिल्लाभर लागु गर्ने पर्नेमा जोड दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक शिक्षा अवस्था सुधार गर्न तथा बालबालिकाको पहुँच वृद्धिका लागि नीति निर्माण र लगानी वृद्धिमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार हिमा सरकारले शिक्षा क्षेत्रमा गरेको काम प्रशंसा योग्य छ ।  

पाठ्यपुस्तकको ज्ञानसँगै विद्यार्थीलाई बाहिरी ज्ञानमा पनि पोख्त बनाई भविष्यमा दक्ष जनशक्ति बनाउन रचनात्मक, प्रयोगात्मक कार्यक्रममामा पालिकाले जोड दिने हिमाकी उपाध्यक्ष सुर्पना शाहीले बताउनुभयो । 

उहाँले सामुदायिक विद्यालय प्रतिको भ्रम चिर्न र बालबालिकाको पहुँच वृद्धि गर्न हिमाले लगानी बढाउने उल्लेख गर्नुभयो । 

पढाई मेलामा पालिकाभरका अभिभावक,शिक्षक तथा विद्यार्थीसहित जिल्लास्थित सरोकारवालाहरू गरी करिब दुई हजारभन्दा बढीले मेलाको अवलोकन गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button