तपाईँ सुन्दै हुनुहुन्छः

राजमार्गका यात्रुलाई लक्षित गर्दै ‘मकैघर’ सञ्चालनमा 

चितवन । गैँडाकोट नगरपालिका वडा नम्बर ५ स्थित नगरपालिका चोकमा मकैका विभिन्न परिकार सहित मकैघर सञ्चालनमा आएको छ । 

नारायणगढ– बुटवल सडकखण्ड एवं पूर्व पश्चिम राजमार्गका यात्रुहरू र स्थानीय ग्राहकलाई लक्षित गरी उक्त मकैघर आइतबार देखि सञ्चालनमा आएको हो । स्थानीय युवा व्यवसायी लिला सापकोटाले ग्राहकलाई सस्तो र स्वस्थकर  खाजा दिने उद्देश्य सहित मकैघर सञ्चालनमा ल्याउनु भएको हो । 

उहाँका अनुसार मकैघरमा ताजा पोलेको मकै, भुटेको मकै, उसिनेको मकै , मकैको चटपट, मकैको मःम , मकैको पानी पुडी,  मकैको सातु , मकैको पकौडा लगायतका परिकार पाइन्छ । यस्तै मकैसँग खान मिल्न गरी मोही, लस्सी, उखुको जुस, फलफूलका जुसहरू ग्राहकलाई उपलब्ध गरिएको उहाँले बताउनुभयो  । ‘यो एकदम हाइजेनिक, विभिन्न भिटामिन पाईने खाजा पनि छ ।  यो सस्तो पनि छ स्वस्थ पनि छ ।’ सापकोटाले भन्नुभयो  । 

राजमार्गका सडक किनारामा अव्यवस्थित तरिकाले बिक्रीमा राखिएका पोलेका मकैलाई व्यवस्थित र व्यावसायिक रूपले सेवा दिन यो अवधारणा ल्याइएको उहाँले बताउनु भयो  । मकै पोल्न , उसिन्न उनले राष्ट्रिय आविष्कार केन्द्रबाट तयार पारिएका मेसिन ल्याएका छन् । ‘म सँग अहिले आविष्कार केन्द्रबाट ल्याइएका ग्याँसबाट र कोइलाबाट पोल्ने र भुट्न सकिने मेशिन छन्, उहाँले भन्नुभयो, ग्राहकको अगाडि ग्राहककै इच्छा अनुसार मकैका परिकार दिनेछौँ ।’ 

मेसिनबाट पोल्दा  एउटै तापक्रम र निश्चित समयमा एकै पटक धेरै मकै पोल्न सकिने उहाँको भनाई छ । हाल दैनिक जसो दुई सयको हाराहारीमा ग्राहक मकैघरमा आउने गरेको उहाँले बताउनु भयो  । ‘हामीकहाँ बिहान देखि बेलुका सम्म खाजा खाने , प्याकिङ लैजाने ग्राहक आउने गर्नुभएको छ , उहाँले भन्नुभयो , यो परिकार स्वादिष्ट पनि स्वस्थकर पनि छ ।’ 

१५ लाख लगानीमा सञ्चालनमा ल्याइएको मकैघरमा मकै पारखीहरू चितवन र राजमार्गमा गुड्ने ठूला देखि साना सवारीका यात्रु हुने गरेको उहाँले बताउनु भयो । हाल पाँच जनालाई रोजगारी दिन लागिएको मकै घरमा एकै पटक ५० जनालाई समेत सेवा दिन सक्ने क्षमता छ । ‘मकैघर जस्ता व्यवसायले स्थानीय किसानका उत्पादनलाई प्रवर्द्धन पनि गर्छ, उहाँले  भन्नुभयो , नयाँ व्यवसायीलाई प्रेरित गर्छ भन्ने मेरो विश्वास छ ।’ छिट्टै नै अर्को शाखा विस्तारका लागि भरतपुरको चौबीस कोठी क्षेत्रमा तयारी भइरहेको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button