तपाईँ सुन्दै हुनुहुन्छः

लायन्स क्लबद्वारा विद्यार्थीहरूलाई कपडा, ब्याग र जुत्ता वितरण

विदुरप्रसाद अधिकारी, काभ्रे । काभ्रेको रोशी माविमा अध्ययनरत विद्यार्थीहरूलाई कपडा, ब्याग, जुत्ता र स्कुल घण्टी वितरण गरिएको छ ।

लायन्स क्लब अफ काठमाडौँ युनिटी सर्कलका अध्यक्ष रोजेन्द्रराज थापा, उपाध्यक्ष कुमार अधिकारी, लायन्स क्लब अफ काठमाडौँ बालाजु अध्यक्ष श्याम अधिकारी लगायतको सहयोगमा काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका ७ मा रहेको रोशी माध्यमिक विद्यालयमा अध्ययनरत १ देखि कक्षा ७ सम्मका विद्यार्थीहरूलाई शैक्षिक सामग्री, कपडा, ब्याग, जुत्ता र स्कुल घण्टी वितरण गरिएको हो ।

लायन्स क्लब अफ काठमाडौँ जिल्ला ३२५ का अध्यक्ष मनिश्री रत्न बज्राचार्यको प्रमुख आतिथ्यता र रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, विद्यालयका प्रधानाध्यापक बिन्दु ढुङ्गाना लगायतको उपस्थितिमा सामाग्री वितरण भएको थियो ।

कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले सामुदायिक विद्यालयमा विद्यार्थीहरूको सङ्ख्या कम भएको उल्लेख गर्नुहुँदै टाढाका विद्यार्थीहरूका लागि सवारी साधनको व्यवस्था गर्ने तयारी भइरहेको बताउनुभयो ।

लायन्स क्लब अफ काठमाडौँ जिल्ला ३२५ का अध्यक्ष बज्राचार्यले विद्यालयमा सदैव सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो । उहाँले राज्यले पनि शिक्षामा लगानी गरिरहेको र लायन्स क्लबले धेरै सामुदायिक विद्यालयलाई सहयोग गर्दै आइरहेको उल्लेख गर्नुभयो । रोशी माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेमा विद्यार्थीहरूको लागि शैक्षिक समाग्रीहरु, लत्ताकपडा तथा छात्रवृत्ति व्यवस्थाका लागि समेत आफूहरूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लायन्स क्लब अफ काठमाडौँ युनिटी सर्कलका अध्यक्ष थापाले विद्यालयमा यो पहिलो सहयोग भएको र यस्ता सहयोग आगामी दिनमा पनि गर्दै जाने बताउनुभयो । उहाँले विद्यालयलाई आवश्यक पर्ने भौतिक समाग्रीहरु उपलब्ध गराउनका लागि आफूहरूले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थी खोजिरहेको तथा आवश्यकता अनुसार शैक्षिक र भौतिक सहयोग गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button