पूर्वी सुर्खेतको बोटेचौरमा शीत भण्डार निर्माण कार्य अन्तिम चरणमा

सुर्खेत । कृषिजन्य उत्पादनलाई बढावा दिन कर्णाली प्रदेश सरकारको लगानीमा निर्माणाधीन शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका बोटेचौरमा निर्माण गरिएको ८५ मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणको ८० प्रतिशत काम सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा रहेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
निर्देशनालयको १ करोड ५० लाख, ६७ हजार १ सय ८२ रुपैयाँ, गुर्भाकोट नगरपालिकाको १० लाख र श्री कोटमाझ खर्क सामुदायिक कृषि शीत भण्डारको १० लाख गरि कुल १ करोड ७० लाख ६७ हजार १ सय रुपैयाँमा शीत भण्डार निर्माण हुन लागेको कृषि विकास निर्देशनालयका ईन्जिनियर अक्षय शाहीले बताउनु भयो ।
उहाँले शीत भण्डार सञ्चालनका लागि १ सय केभीको ट्रान्सफर्मर जडान गरि टिओडी मिटर र पीटी लगाउने काम मात्र बाँकी रहेको जनाउनुभयो ।
उहाँका अनुसार ३०/३० मेट्रिक टनका दुई वटा, १५ मेट्रिक टनको एउटा र १० मेट्रिक टनको एक गरि कुल चार वटा चेम्बर रहेको शीत भण्डारमा बिउ विजनसँगै तरकारी तथा दुग्धजन्य वस्तुको चिस्यान गरिनेछ ।
आउँदो असार भित्रै कम्पाउण्डवाल, फिल्ड निर्माण र विद्युत् जोडेर शीत भण्डार सञ्चालनमा ल्याउने तयारी भएको श्रीकोटमाझ खर्क सामुदायिक कृषि शीत भण्डारका अध्यक्ष गिताराम थापाले जानकारी दिनुभयो ।

उहाँले जुनसुकै समयमा उत्पादन गरिएको तरकारी, फलफूलजन्य उत्पादनलाई भण्डारण गरेर मौसम अनुकूल विक्री वितरण गर्ने लक्ष्य रहेको कोल्ड स्टोरेज भवनको रङ्ग रोगनलगायत करिब २० प्रतिशत मात्रै काम बाँकी रहेको बताउनुभयो ।
उहाँका अनुसार शीत भण्डारको अभावमा यस क्षेत्रको कृषि तथा दुग्धजन्य भण्डारणका लागि बाँकेको कोहलपुरलगायतका सहरमा निर्भर हुनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा राखिएको छ ।
शीतभण्डार कृषि क्षेत्रको रुपान्तरणको एउटा महत्वपूर्ण कडी भएकाले सरकार र समुदायको लगानीमा निर्माण भएको उक्त शीत भण्डारमा आधुनिक एसी प्रविधिबाट वस्तुलाई चिस्यान दिइने कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।
उहाँले पूर्वी सुर्खेतको बोटेचारमा सञ्चालनमा आउन लागेको शीत भण्डारमा पूर्वी सुर्खेतसहित पश्चिम रुकुम, सल्यान, दाङसम्मका किसानले उत्पादन गरेका दुग्धजन्य, बिउ बिजन, तरकारी, फलफूलका साथै जडीबुटीलाई समेत राखिने बताउनुभयो । शीतभण्डार केन्द्रले हालको भन्दा बढी उत्पादन हुने र किसानलाई लागत खर्च कम भई प्रतिफल वृद्धि हुने उहाँको विश्वास छ ।
प्रतिक्रिया राख्नुहोस्