तपाईँ सुन्दै हुनुहुन्छः

‘तीन तहका सरकारबीच सहकार्य नहुँदा समस्या’

मकवानपुर । मकवानपुरका स्थानीय तहहरुले तीन तहका सरकारबीच सहकार्य हुन नसक्दा समस्या भएको बताएका छन् ।

हेटौँडामा शुक्रबार आयोजित स्थानीय सुशासन प्रवर्द्धन र योजना तर्जुमा तथा क्षमता अभिवृद्धि सम्बन्धी अभिमुखीकरण कार्यक्रममा मकवानपुरका स्थानीय तहका प्रमुख/उपप्रमुखहरूले तीन तहबिचको सहकार्यको अभावमा समस्या भोग्नुपरेको बताउनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा स्थानीय तहको योजना कार्यान्वयनका क्रममा संघ एवम् प्रदेश सरकारसँग भोग्नुपरेको समस्या र अपेक्षाका साथै योजना तर्जुमामा वर्तमान समस्या र भावी योजनाको बारेमा समेत छलफल भएको थियो ।

कार्यक्रममा स्थानीय तहका प्रमुख/उपप्रमुखहरूले प्रदेश एवम् संघीय सरकारले योजना कार्यान्वयनका क्रममा स्थानीय तहसँग समन्वय नगर्दा थप समस्या भएको साथै स्थानीय तहको मुख्य आम्दानीको स्रोत ढुङ्गा, गिट्टी, बालुवासम्बन्धी समस्या, योजना कार्यान्वयन, कानुन निर्माण लगायत विषयमा पनि समन्वय हुन नसकेको गुनासो गर्नुभयो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले बागमती प्रदेशको राजधानीलाई कस्तो बनाउने भन्ने विषयको परिकल्पना समेत हुन नसक्नु दुःखद भएको बताउनुभयो ।

कार्यक्रममा थाहा नगरपालिकाका मेयर बिष्णु बहादुर विष्टले सबै भन्दा बढी प्रदेश सरकारको योजना कार्यान्वयनमा समस्या रहेको बताउनुभयो ।

कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले ११९ पालिकामा सुचाङ्कको आधारमा योजना जाने गरेको तर कैलाश जस्तो विकट क्षेत्रमा योजना पठाउने विषयमा प्रदेश सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको बताउनुभयो ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले प्रदेश र स्थानीय तहबीच योजनामा दोहोरोपना धेरै रहेको बताउनुभयो । उहाँले विकट क्षेत्रमा कर्मचारी व्यवस्थापन अहिले सबै भन्दा ठुलो समस्या रहेको बताउनुभयो ।

कार्यक्रममा स्थानीय योजना तर्जुमा तथा अन्तर–सरकार योजना समन्वय र अनुकूलनका पाटाका विषयमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा. डा. नरविक्रम थापा, र स्थानीय तहको सुशासन प्रवर्द्धन एवम् सेवा प्रवाह तथा गृह प्रशासनको भूमिकाका विषयमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सहजीकरण गर्नुभएको थियो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नीति तथा योजनाका उपाध्यक्ष नरविक्रम थापा, जिल्ला समन्वय समितिका उपप्रमुख सानुकाजी लुइँटेल, हेटौँडा उपमहानगरपालिकाका मेयर मेयर मिना कुमारी लामा, थाहा नगरपालिकाका मेयर बिष्णु बहादुर विष्ट लगायत जिल्लाका १० वटै स्थानीय तहका प्रमुख/उपप्रमुख, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा अधिकृत लगायत सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button