तपाईँ सुन्दै हुनुहुन्छः

‘विश्व शान्ति कार्यको उद्देश्य पूरा गर्न नेपाली सेना प्रतिबद्ध’

काभ्रे । प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति कार्यको उद्देश्य पूरा गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताउनुभएको छ ।

काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा आज आयोजित अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवस समारोहमा उहाँले शान्ति स्थापनामा सेनाको सहभागिताले नेपालको प्रतिष्ठा बढाउन योगदान पुर्‍याएको उल्लेख गर्नुभयो ।

समारोहमा प्रधानसेनापति शर्माले वीर स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै राष्ट्रसङ्घ शान्ति सेनाको झन्डोत्तोलन गर्नुभयो ।

शान्तिकार्य निर्देशक सन्तोषबल्लभ पौडेलले विश्वभर राष्ट्रसङ्घले विश्वशान्ति जस्तो पवित्र कार्यका लागि नेपाली सेनाले देखाएको विशिष्ट आँट, योगदान र बलिदानका लागि मान्यता प्रदान गरेको बताउनुभयो ।

समारोहमा प्रधानसेनापति शर्माले विश्व शान्ति कार्यमा परिचालित हुने क्रममा बलिदानी दिने साहसिक सैनिकका परिवार र योद्धालाई पदक र कदर पत्र प्रदान गरी सम्मान गर्नुभयो ।

राष्ट्रसङ्घको निस्वार्थ शान्ति कार्यमा योगदान पुर्‍याउने मरणोपरान्त सैनिक, प्रहरी र नागरिकलाई राष्ट्रसङ्घका पूर्व महासचिव ड्याग ह्यामर सोल्डका नाममा स्थापित पदक र प्रमाणपत्र प्रदान गरिएको हो ।

समारोहमा सहसेनानी कैलाशकुमार बस्नेत, जमदार गोविन्द थापा र हुद्दा हिक्मत तामाङलाई सम्मानपत्र प्रदान गरिएको थियो । नेपाली सेनाले विगत ६८ वर्षको अवधिमा विश्वका ४४ शान्ति मिसनमा खटिई योगदान पुर्‍याइसकेको छ । हालसम्म एक लाख ४५ हजार तीन सय ५६ शान्ति सैनिकले राष्ट्रसङ्घको शान्ति पदक प्राप्त गरिसकेका छन् ।

विश्व शान्ति स्थापना कार्यमा हालसम्म ७२ सैनिकको वीरगति प्राप्त भइसकेको छ भने ६६ जना घाइते भएका छन् । हाल विश्वका विभिन्न मुलुकमा स्थापना भएका १३ शान्ति मिसनमा पाँच सय २९ महिलासहित छ हजार ५७ नेपाली शान्ति सैनिक परिचालित छन् ।

राष्ट्रसङ्घबाट अनुरोध भई आएमा एकै पटक १० हजारको सङ्ख्यामा शान्ति सैनिक खटाउन सक्ने नेपालले यसअघि नै प्रतिबद्धता जनाइसकेको छ । विश्व शान्तिका लागि धेरै सैनिक खटाउने मुलुकको सूचीमा नेपाल हाल दोस्रो वरियतामा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button