तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिँदै नागरिक उन्मुक्ति पार्टी

सुदूरपश्चिम । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री शाहले सरकार विस्तारको क्रममा आफूहरूलाई बेवास्ता गरेको र मनोमानी ढङ्गले सरकार विस्तार गरेको भन्दै उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने भएको हो ।

मुख्यमन्त्री शाहले आफ्नै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेपछि नाउपा चिढिएको छ । नाउपाले मन्त्रालय भागबन्डाको क्रममा दुईवटा मन्त्रालय मागेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूहरुबीच प्रदेश सरकारको सामाजिक विकास र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सहमति भएको नाउपाले बताउदै आएको छ । सो पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य गंगाराम चौधरीले सहमति कार्यान्वयन नभएकाले सरकारमा सहभागी नभएको बताउनुभयो ।

मुख्यमन्त्री शाह भने नागरिक उन्मुक्तिलाई एक मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने पक्षमा हुनुहुन्छ । सो पार्टीले समर्थन फिर्ता लिने तयारी गरेपनि शाह नेतृत्वको प्रदेश सरकार सुरक्षित छ ।

५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकारको लागि २७ जना चाहिन्छ । नागरिक उन्मुक्ति बाहिरै बसेपनि मुख्यमन्त्री शाहसँग स्पष्ट बहुमत देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button