तपाईँ सुन्दै हुनुहुन्छः

सबै दलको विश्वास लिएर सरकार अगाडि बढ्छ : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा सबै दलका प्रदेशसभा सदस्यको विश्वास लिएर सरकार अगाडि बढ्ने बताउनुभएको छ ।

प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेशअन्तर्गतका पालिकाहरूमा पठाउने ससर्त अनुदानको रकमका सम्बन्धमा बनेको कार्यविधिमा रहेको जटिलतालाई दलहरूकै सल्लाह र सुझावअनुसार संशोधन गरेर आवश्यक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आजै प्रदेश सरकारका सचिवहरूसँग बैठक बसेर तीन दिनभित्र अधिकार प्राप्त व्यक्ति बाहेकले चढ्ने गाडी फिर्ता ल्याउन निर्देशन दिइएको जानकारी दिँदै मुख्यमन्त्री यादवले पूर्वाधार कार्यालय सिरहाको काम कारबाही र लहान अस्पतालमा कर्मचारी नियुक्तिका सम्बन्धमा उठेका प्रश्नहरूबारे सम्बद्ध पक्षसँग जानकारी लिई आवश्यक निर्देशन दिइसकेको जानकारी सभालाई गराउनुभयो ।

त्यसअघि सभामुख रामचन्द्र मण्डलले बैठकको विशेष समय सुरु भएको जानकारी गराए लगत्तै नेकपा (एमाले) संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले सरकारको जवाफ नआएसम्म बैठक नचल्ने जनाएपछि एमालेका सबै प्रदेशसभाका सदस्यहरु आ–आफ्नो स्थानमा उभिनुभएको थियो ।

सरकारले ससर्त अनुदान रकम बाँडफाँट गर्दा फरक फरक मापदण्ड अपनाइएको विषयमा आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने भन्दै विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका बैठक स्थगित गर्नुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक यही जेठ १६ गते मङ्गलबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button