तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह

काठमाडौँ । सभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकहरूलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने काममा लाग्न आग्रह गर्नुभएको छ ।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरूलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले कला र संस्कृतिले नै हामी सबै नेपालीलाई जोड्छ र एकाकार बनाउँछ भन्ने भावका साथ लाग्न संसारका सबै नेपालीलाई आह्वान गर्नुभयो ।

विश्वका प्रतिभाहरूलाई जम्मा गरेर गायन र नृत्य प्रतियोगिता आयोजना गरेकामा उहाँले फाउण्डेशनको प्रशंसा गर्नुभयो । नेपालको भाषा, संस्कृति र साहित्यलाई विश्वसामु चिनाउनका लागि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन फाउण्डेशनलाई उहाँले सुझाव पनि दिनुभयो ।

विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये अन्तिमतर्फको छनोटमा परेका गायनका ५० र नृत्यका ५० प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत आगामी यात्रा तय गरिरहेका छन् ।

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीहरुबीच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका यी दुई प्रतियोगिता आयोजना गरेको हो ।

‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रम नेपाल टेलिभिजनबाट पनि प्रसारण भइरहेको छ । नेपाल टेलिभिजनमा बुधबार र बिहीबार ‘मेरो भ्वाइस युनिभर्स’ बेलुकी ८ः५० बजेदेखि र ‘मेरो डान्स युनिभर्स’ एनटिभी प्लसमा शुक्रबार र शनिबार बेलुकी ८ बजे प्रसारण भइरहेको छ ।

गायन र नृत्य गरी दुवैतर्फ प्रतियोगितामा छानिएका प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, समूह नृत्यतर्फ पनि प्रथम हुनेलाई रु २० लाख पुरस्कार रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button